२ वैशाख २०८३ बुधबार
image/svg+xml
अपराध

१४ लाख भारुसहित पम्प सञ्चालक पक्राउ

कपिलवस्तु नगरपालिकास्थित चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित प्रहरीले सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–८ बरकुलका २१ वर्षीय अभिषेक गुप्ता रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीले चोकबजारस्थित राजेश पान पसल नजिकै लु १८ प ८७४७ नम्बरको मोटरसाइकललाई पिछा गरेको थियो। मोटरसाइकल छाडेर भाग्दै गर्दा महेन्द्रगेट नजिकैबाट गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार मोटरसाइकलको सिटमुनि र डिक्कीमा लुकाएर राखिएको अवस्थामा ५ सय दरका २८ गड्डी भारु फेला परेको हो।

पक्राउ परेका गुप्ता बर्रोहियास्थित न्यु गुप्ता पेट्रोल पम्पका सञ्चालक हुन्। यसअघि पनि जिल्लाका विभिन्न स्थानमा बरामद भएको अवैध मुद्रा र सुनको घटनामा उनको नाम जोडिएको प्रहरीले जनाएको छ। उनलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी नायब उपरीक्षक सिंहले बताए।

यसैबीच, कपिलवस्तुमै कर्तव्य ज्यान मुद्दामा सजाय पाई फरार रहेकी एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–६ लक्ष्मीपुरकी २९ वर्षीया गुडिया भनिने लक्ष्मी कोरी रहेकी छन्।

आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा उनी पक्राउ परेकी हुन्। अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २०८० साल जेठ १ गते ५ वर्षको कैद सजाय फैसला गरेको थियो।

पक्राउ परेकी कोरीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०८२ २२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App