२० वर्ष कैद सजाय तोकिएका एक कैदी पक्राउ परेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नामका ४५ वर्षीय गुनबहादुर पुर्जा पक्राउ परेका हुन्।
उनी पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका बेला तत्कालीन सशस्त्र जनयुद्धको समय विक्रम संवत् २०६० साल चैत्र ७ गते म्याग्दी आक्रमणका क्रममा कारागारबाट फरार भएका थिए। जिल्ला अदालत म्याग्दीले कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय तोकेको थियो।
उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १२:३० बजे रघुगंगा गाउँपालिका-४ देखि करिब ५ किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दी ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित: ८ श्रावण २०८३ ०९:४० शुक्रबार





