क्यासिनो सिटीको परिचय बोक्दै आएको नेपालगन्ज पछिल्लो समय अवैध जुवातासको केन्द्र बन्दै गएको छ। छिमेकी जिल्लासँगै भारतका नागरिकसमेत यहाँ नियमितरूपमा जुवातास खेल्न आउने गरेको बताइन्छ। यस्तै अवस्थामा बाँके प्रहरीले बुधबार राति नेपालगन्जमा ठूलो स्तरको जुवा अड्डामाथि छापा मार्दै १४ जनालाई पक्राउ गरेको छ।
जिल्लामा हालसालै जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) अंजुर जिसीको नेतृत्वमा प्रहरीले सञ्चालन गरेको उक्त अभियानलाई ठूलो सफलता मानिएको छ । बुधबार राति साढे ११ बजेतिर नेपालगन्ज बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा प्रहरीले छापा मारेको हो । प्रहरीले त्यहाँबाट करिब १३ लाख ६३ हजार आठ सय रुपैयाँ नगदसहित १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नेपालगन्जका गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मोहम्मद सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम र रमेश शाही पक्राउ परेका एसपी जिसीले बताए । त्यस्तै कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी पनि समातिएका उनले जानकारी दिए । सोही रेष्टुरेन्टका सञ्चालक विज्ञान श्रेष्ठलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक यमबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले रेष्टुरेन्टको दोस्रो तलाको हलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई समातेको हो । प्रहरीले खेल्दै गरेको दुई गड्डी तास र नखोलेको थप आठ गड्डी तास बरामद गरेको जनाएको छ । साथै हलमा पर्दा र अन्य सामग्रीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
एसपी अंजुर जिसीले नेपालगन्जमा फैलिँदै गएको अवैध जुवातास नियन्त्रणका लागि प्रहरीले कडा निगरानी सुरु गरेको बताए । उनका अनुसार नेपालगन्जमा पछिल्लो समय विभिन्न होटेल, रेष्टुरेन्ट र निजी घरहरूमा जुवातास व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको गुनासो स्थानीयबाट आइरहेको थियो । सोही सूचनाका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएको र बुधबार राति ठ्याक्कै अवसर पारेर छापा मारिएको जिसीले बताए ।
जिसीले भने, ‘नेपालगन्जमा जुवातासलाई व्यवसायको रूपमा चलाउनेहरूको युग सकिएको छ । अब जसले यस्तो गैरकानुनी कार्य गर्छ, उसलाई कुनै पनि हालतमा छुट दिइने छैन ।’ स्थानीय बासिन्दाले पनि प्रहरीको यो कदमको स्वागत गरेका छन् । उनीहरूले लामो समयदेखि नेपालगन्जमा राति–राति रेष्टुरेन्ट र होटेलहरूमा जुवातास खेलिँदै आएको भन्दै यस्ता कार्यले शहरको छवि धमिल्याएको प्रतिक्रिया दिएका छन् ।
दैलेखमा ६ जना जुवाडे पक्राउ
दैलेखमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नारायण नगरपालिका–१ दैलेख बजारस्थित एक कोठामा जुवातास खेलिरहेको अवस्थामा नौमुले गाउँपालिका–८ चौराठा घर भई सोही ठाउँमा डेरा गरी बस्ने ३६ वर्षीय टोपबहादुर राना मगरसहित ६ जनालाई गए राति पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद ४० हजार ८ सय ४० रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूले कोठा भित्र तास खेल्दै पैसा बाजी लगाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जुवातास नियन्त्रणका लागि पछिल्ला दिनमा दैलेखका विभिन्न स्थानमा विशेष अभियान सञ्चालन गरिएको छ । सोही क्रममा दैलेख बजार क्षेत्रमा शंका लागेका कोठाहरूमा निगरानी बढाइएको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित: २३ आश्विन २०८२ १८:५९ बिहीबार





