रौतहटमा फेरि गाँजा समातिएको छ। एक क्विन्टल ३३ किलो गाँजा पक्राउ भएको एक महिना नबित्दै रौतहटमा आइतबार फेरि गाँजासहित एकजना पक्राउ परेका हुन्। रौतहट प्रहरीले आइतबार दिउँसो करिब १० किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
रौतहटको चन्द्रनिगाहपुर ४ धनसारस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा प्रहरीले गाँजा सहित एक मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो। बाराबाट रौतहटतर्फ आउँदै गरेको अवस्थामा ना ८० प ९८९३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको हो। मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका १२ का ३४ वर्षीय दीप थिङले बोकेको झोलालाई प्रहरीले चेकजाँच गर्दा ९ किलो ७५० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
इप्रका चन्द्रनिगाहपुरका सहायक प्रहरी निरीक्षक टीकामाय शिवाकोटीको कमान्डमा रहेको प्रहरी टोलीले गाँजासहित थिङलाई नियन्त्रणमा लिएको हो। थिङले चढेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको इप्रका चन्द्रनिगाहपुर प्रमुख डिएसपी रुपा लाबुङले जानकारी गराइन्।
बरामद गाँजा र पक्राउ परेका थिङलाई मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ श्रावण २०८२ १६:२७ आइतबार





