घरमै सुतिरहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा खोटाङमा एक पुरुष पक्राउ परेका छन्। ३० वर्षीया परिवर्तित नाम चार (४) माथि घरमा सुतिरहेका बेला जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका ५ सप्तेश्वर आम्बोटेका ३७ वर्षीय सुमन राई पक्राउ परेका हुन्।
खेतमा काम गरेर थाकेकी उनी खाना खाएर मस्त निन्द्रामा सुतिरहेको मौका छोपी शुक्रबार राति २ः१५ बजे जबरजस्ती करणी गरेको पीडितको भनाइ छ। विवाहित महिलामाथि जबरजस्ती गरेको आरोपमा राईलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार पीडित महिलाको उजुरीका आधारमा अस्थायी प्रहरी चौकी खार्मीबाट खटेको टोलीले उनलाई पक्रेर सदरमुकाम ल्याएको हो।
पीडितले राईविरुद्ध शनिबारै किटानी जाहेरी दिए पनि बिदाको दिन परेकाले दर्ता भने गर्न बाँकी छ। आइतबार कार्यालय खुलेसँगै मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने मिश्रले बताए। प्रहरीका अनुसार राई छिमेकी गाउँका भएको र कामको सिलसिलामा त्यहाँ पुगेर बदमासी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
राति मादक पदार्थ सेवन गरेर लठ्थिएका उनले महिला सुतिरहेको बेला ओछ्यानमै पुगेर जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ। महिलाका श्रीमान् विदेशमा रहेको बताइएको छ।
दिनभरि खेतको काम गरेर थाकेकाले मस्त निन्द्रामा रहेका बेला ओछ्यानमै आएर अपरिचित राईले जबरजस्ती गरेको पीडितको आरोप छ। गहिरो निन्द्रामा परेकाले जबरजस्ती करणी गरेको थाहा पाएपछि छोराछोरीमार्फत छिमेकी बोलाएर राईलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको पीडितको भनाइ छ।
छिमेकी प्रत्यक्षदर्शीका अनुसार प्रहरी घटनास्थल आइपुग्नु अघिसम्म राईले महिलामाथि अश्लील शब्द प्रयोग गर्दै कोदालोले हिर्काउने प्रयाससमेत गरेका थिए। तर, छिमेकीहरूले उनको हातबाट कोदालो खोस्न सफल भएर आक्रमण हुनबाट रोकेका थिए।
महिलाले आफूमाथि अन्यायपूर्ण अपराध गरेको भन्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न उजुरीमा माग गरेकी छिन्। पीडितलाई शनिबारै प्रहरीले सदरमुकाम झिकाएर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक मिश्रले बताए।
प्रकाशित: १ भाद्र २०८२ ०६:४७ आइतबार





