१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अपराध

कल बाइपासमा संलग्न एक जना पक्राउ : नक्कली भारतीय नोटसहित दुई जना पक्राउ

रुपन्देही प्रहरीले भैरहवाबाट कल बाइपासमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोर्खा चुमनुव्री गाउँपालिका-४ का ६२ वर्षका छिरिङ गुरुङ छन्। गुरुङलाई प्रहरीले सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट भीओआइपी कल बाइपासको उपकरणसहित पक्राउ गरेको हो।

गुरुङले लामो समयदेखि बेलहियाको मुक्ति होटल एण्ड रेष्टुरेन्टमा कोठा भाडामा लिएर कल बाइपासको काम गर्दै आएको सूचनाका आधारमा प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो। उनलाई लामो समयको निगरानीपछि शुक्रबार कोठा खानतलासी गर्दा कल बाइपासमा प्रयोग भएका उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले बताए।

गुरुङको साथबाट सिमकार्ड जडान गरिएको डिभाइस २ थान, राउटर २ थान, भारतीय सिमकार्ड ५६ थान, एनसेलको सिमकार्डको खोल ३८ थान, नेपाल टेलिकमको सिमकार्ड एक थान, स्कुटर एक थान, नेपाली र भारतीय रुपैयाँ लगायतका सामाग्री बरामद भएको डिएसपी चन्दले जानकारी दिए। चन्दका अनुसार दूरसञ्चार ऐन २०५३ को भीओआईपी कल बाइपास सम्बन्धि कसुरमा गुरुङलाई जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।

यसैबिच, नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक भैरहवाबाट पक्राउ परेका छन्। ५ सय दरका नक्कली भारतीय रुपैयाँसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई सिद्धार्थनगर नगरपालिका १२ प्रहरीटोलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू भारतको उत्तर प्रदेश सोहरतगढ सिद्धार्थनगरका २१ वर्षका अभिषेक कसौधन र महाराष्ट्रका २४ वर्षका यश बाउसाहेब ब्राम्हण रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ५ सय दरका १४० थान नक्कली भारतीय नोट, २ थान मोवाइल र २ थान भारतीय आधार कार्ड पनि बरामद भएको छ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मानबहादुर बी.सीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई भैरहवाकै एक चिया पसलबाट बिहीबार राती पक्राउ गरेको हो। 

भैरहवाको प्रहरी टोल स्थित एक चिया पसलमा चिया पिएपछि ती भारतीय युवाले दिएको पैसा नक्कली भएको आशंका लागेर चिया पसलेले प्रहरीलाई खबर गरेका थिए। उनीहरू विरुद्ध थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८३ २१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App