१३ असार २०८३ शनिबार
image/svg+xml
अपराध

अभिषेक गिरीको पक्राउले विभाजित बन्यो मोरङ कारागार: एउटा ब्लक विरोधमा, अर्को समर्थनमा

मोरङ कारागारका कैदीबन्दीहरूबाट अवैध रकम असुली गरेको अभियोगमा कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेपछि कारागारभित्र तनाव सिर्जना भएको छ।

गिरीको पक्राउ र चौकीदार राकेश यादवमाथि अनुसन्धान सुरु भएसँगै कैदीबन्दीहरूले कारागारभित्रै पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान विराटनगर–८ मधुमारास्थित आफ्नै घरबाट गिरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनको घरमा छापा मार्दा केही शंकास्पद तमसुकहरू समेत फेला पारेको छ। पक्राउ परेका गिरी हाल छाती दुखेको भन्दै कोशी अस्पतालमा भर्ना भएका छन्।

मोरङ कारागारका जेलर राजन घिमिरेका अनुसार कारागारका कैदीबन्दीलाई गर्मी भत्ताबापत प्रतिव्यक्ति २ हजार ५ सयका दरले रकम वितरण गरिएको थियो।

त्यसमध्ये ब्लक ‘बी’ का ५३६ जना कैदीबन्दीको कुल १३ लाख ४० हजार रुपैयाँ गायब भएको थियो। सोही भत्ता दुरुपयोगको घटनामा जोडिएपछि गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

गिरी पक्राउ परेपछि कारागारका विभिन्न ब्लकमा रहेका कैदीबन्दीहरू विभाजित भएर प्रदर्शनमा उत्रिएका छन्। ब्लक ‘बी’ का कैदीबन्दीले गिरीको पक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् भने ब्लक ‘ए’ का कैदीबन्दीले गिरीविरुद्ध हदैसम्मको कारबाही माग गर्दै प्रदर्शन गरेका छन्।

मोरङ कारागारमा हाल कुल १ हजार १९९ कैदीबन्दी आश्रित छन्।

यो पनि पढ्नुहोस्

आठ वर्ष कारागार भुक्तान गरेका अभिषेक पुन: पक्राउ

प्रकाशित: १३ असार २०८३ १६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App