दाङको घोराही तुलसीपुर सडक चारलेन बनाउन जिल्लास्थित वन डिभिजन कार्यालयले रुख काट्न आदेश दिएको छ। वन कार्यालयका सूचना अधिकारी भक्तबहादुर चौधरीले घोराहीबाट तुलसीपुरसम्म ५९ वटा रुख काट्नु पर्ने बताएका छन्। घोराही तुलसीपुर खण्डमा २० वटाभन्दा बढी पिपलका रुख काट्नुपर्ने अवस्था आएपछि अहिले उक्त काम अगाडी बढेको छ।
विद्युतका खम्बा हटाउने र रुख काट्ने काम सकिएपछि उक्त सडकले चारलेनमा बन्ने कार्य अगाडी बढ्ने निर्माण कम्पनी श्री दिवाबन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाले बताए । उनको अनुसार केही स्थानमा विद्युतका खम्बा पनि हटाइएको छ। सडक निमार्णको लागि अब घोराहीको सर्रा क्षेत्र र तुलसीपुर क्षेत्रमा विद्युतका खम्बा हटाउन बाँकी रहेको उनले बताए।
अहिलेसम्म चारेलनको सडक करिब १५ प्रतिशत मात्रै बनेको र अहिले वाल, कल्भर्ट र नाली निर्माणले गति लिएको उनले बताए। उनका अनुसार घोराहीको डिके पेट्रोलपम्पबाट तुलसीपुरको हातीखौवासम्म चारलेन सडक बन्नेछ। सोही स्थानमा सडकको क्षेत्रछुट्याउने काम भइसकेको भन्दै इञ्जिनियर ढुङ्गानाले उक्त सडक २१ दशमलव ५८ किमी कालोपत्र तथा चौडाइ चारलेनको हुने बताए।
‘स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ। दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रको काम सुरु हुनेछ’, इञ्जिनियर ढुङ्गानाले भने । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजनामार्फत ठेक्का सम्झौता भएको थियो।
निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ। सडक ‘अस्फाल्ड’ प्रविधिबाट कालोपत्र हुने इञ्जिनियर ढुङ्गानाले जानकारी दिए। ‘यसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिने भएको यो सडक थप मजबुत बन्नेछ’, उनले भने।
सम्झौता भएको ३६ महिनामा काम सम्पन्न गर्ने सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार गत २४ असारमा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा सम्झौता भई काम सुरु भएको हो। सोही सडक चारलेन बनाउन यसअघि भएको सम्झौता निर्माण कम्पनीले काम नगरेपछि रद्द गरिएको थियो। ठेक्का रद्द भएपछि विसं २०८१ साउनदेखि नयाँ प्रक्रिया सुरु गरिएको थियो।
तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्कामार्फत काम गर्ने सहमति भएको थियो। सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर बोलपत्र आह्वान भएको थियो।
उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।
प्रकाशित: १३ असार २०८३ १६:३५ शनिबार





