काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
अख्तियारले कामपाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीले भ्रष्टाचार गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउन र वैध बनाउन नातेदारहरूको नाम प्रयोग गरेको जनाएको छ।
अख्तियारले कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा रु ४,५८,९७,४०३.८८ बिगो कायम गरी पहिले नै मुद्दा विचाराधीन रहेकोमा, सम्पत्ति शुद्धीकरण निवारण ऐन लागू हुनुपूर्वको रु. १९,१५,५१४.८६ घटाएर बाँकी रु. ४,३९,८१,८८८.१४ र कसुरबाट बढाएको रु. ८,९७,९५३.८४ गरी कुल रु. ४,४८,७९,८४१.९८ (चार करोड अड्चालीस लाख उनासी हजार आठ सय एकचालीस रुपैयाँ अन्ठानब्बे पैसा) बिगो दाबी गरेको छ।
यस्तै, कोइरीले साली रीना कुशवाह र साडुभाइ कृष्ण प्रसाद मेहताको नाम प्रयोग गरी बैंक तथा सहकारीमा रकम जम्मा, घरजग्गा खरिद र मुद्दति निक्षेपमा राखी रकमको तहथह निर्माण गरी अवैध सम्पत्तिलाई वैध देखाउने कार्य गरेको अख्तियारको ठहर छ।
यस गरेबापत कोइरीलाई बिगोको दोब्बर जरिवाना, कैद सजाय, जग्गा जफत र थप १० प्रतिशत सजाय समेतको मागदाबी लिइएको छ।
यस्तै कोइरीका श्रीमती माला कुमारी महतोले पतिले भ्रष्टाचार गरी कमाएको अवैध सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै आफ्नो नामबाट घरजग्गा तथा लगानी गरी सम्पत्तिको वास्तविक स्रोत लुकाएको देखिएको भन्दै ४,४८,७९,८४१.९८ बिगो कायम गरी दोब्बर जरिवाना, कैद सजाय र जग्गा जफतको मागदाबी गरिएको छ।
यस्तै, साली रीना कुशवाहा र साडुभाइ कृष्ण प्रसाद मेहतालाई अवैध सम्पत्ति रूपान्तरण, हस्तान्तरण र स्रोत बदल्न मद्दत तथा सहजीकरण गरी मतियारको भूमिका निर्वाह गरेकाले मुख्य कसुरदार रामबाबु महतोलाई हुने सजायको आधा सजाय हुन मागदाबी गरिएको छ।
प्रकाशित: २६ भाद्र २०८३ १७:०३ शुक्रबार





