२८ भाद्र २०८३ आइतबार
image/svg+xml
अपराध

नक्कली सुन देखाई १ करोड ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २८ वर्षीय अनिष थापा मगर रहेका छन्।

प्रहरी प्रभाग गोँगबु नयाँ बसपार्कबाट खटिएको को टोलीले थापालाई टोखा नगरपालिका–९ मिलन टोलस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ८५६ ग्राम समेत बरामद गरेको छ।

थापा मगरले पीडितलाई पटक–पटक गरी कुल रु १,३९,३०,००० (एक करोड उनन्चालीस लाख तीस हजार) रकम ठगी गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनी जबरजस्ती करणी मुद्दाका कैदी समेत भएको र २०८२ भाद्र २४ गते नख्खु कारागारबाट फरार भएको समेत खुल्न आएको छ।

पक्राउ परेका मगरमाथि ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ भाद्र २०८३ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App