सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले कार्यालयमा छापा मार्दै मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई घुस रकम सहित नियन्त्रणमा लिएको हो।
सर्लाहीको लालबन्दी घर भएका तिमिल्सिनाले ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बयलबास स्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको थियो।
अख्तियारको टोलीले घुस मागेअनुसारको रकम लिइरहेको अवस्थामा तिमल्सिनालाई नियन्त्रणमा लिएको छ।
सरकारी सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग घुस माग्ने तथा अनियमितता गर्ने कर्मचारीमाथि अख्तियारले निगरानी र कारबाही तीव्र बनाउँदै आएको छ।
पक्राउ परेका तिमिल्सिना माथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको अख्तियार स्रोतले जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ १५:१० बुधबार





