जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कँदै गर्दा सांघातिक आक्रमणमा परी घाइते एमाले नेता तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङलाई थप उपचार गर्न जिल्ला बाहिर पठाइएको छ ।
सेन्दाङलाई अस्पतालले विर्तामोड स्थित बीएण्डसी अस्पतालमा थप उपचार गर्ने गरी रेफर गरेको हो ।
जिल्ला प्रहरी प्रमुख(डीएसपी) वेदप्रसाद गौतमले सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी दिए । डीएसपी गौतमका अनुसार वडाध्यक्ष सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ । जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कदै गर्दा सेन्दाङ माथि तोक्मेडाँडा क्षेत्रमा ५/७ जनाको समूहले सांघातिक आक्रमण गरेको एमाले ताप्लेजुङले जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्नको खोजी जारी राखेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु भईसकेको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउने प्रहरीको दावी छ।
प्रकाशित: ७ भाद्र २०८२ २१:४९ शनिबार





