कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको घटना सार्वजनिक भएको छ। लम्कीचुहा नगरपालिका–१० की यमुना सुनारले प्रेमीको सहयोगमा श्रीमान् ३४ वर्षीय दीपक सुनारको हत्या गर्न डेढ लाख रुपैयाँको सुपारी दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रीमान्को हत्या गरेपछि प्रमाणसमेत नष्ट गर्ने योजना बनाएकी यमुनाले सुरुमा दीपक सम्पर्कविहीन भएको भन्दै खोजीको नाटक गरेकी थिइन्। साउन २२ गते साँझ उनले श्रीमान् हराएको भन्दै इलाका प्रहरी कार्यालय लम्कीमा खबर गरेकी थिइन्। पछि खोजीका लागि प्रहरीमा उजुरी दिनुका साथै सञ्चारमाध्यममार्फत समेत रुँदै श्रीमान्को खोजी गरिदिन आग्रह गरेकी थिइन्।
प्रहरीका अनुसार सोही दिन यमुनाले जानकी गाउँपालिका–अमरावतीस्थित माइती घर जाने भन्दै श्रीमान्लाई स्कुटरमा पछाडि राखेर घरबाट लगेकी थिइन्। बाटोमा पर्ने अमरावती जंगलमा पुगेपछि त्यहाँ पहिल्यै बसेका उनका प्रेमीसहित चार जनाले दाउ प्रहार गरी दीपकको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
हत्या गरेपछि प्रमाण नष्ट गर्ने उद्देश्यले शव टुक्रा पारेर मोटरसाइकलमा राखी सेती नदीमा बगाइएको प्रहरीले जनाएको छ।
साउन २३ गते अमरावती जंगलमा रगत लतपतिएको अवस्थामा मासुका टुक्रा, दाउ, चप्पल र प्लास्टिक फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार हत्यामा संलग्नहरूले घटनास्थलमा भेटिएको रगत तथा मासुका टुक्रा जंगली जनावरको भएको हल्ला फैलाएर प्रहरीको अनुसन्धान मोड्ने प्रयास गरेका थिए।
तर, घटनास्थलबाट संकलित रगत परीक्षण गर्दा मानिसको भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले भदौ ९ गते धनगढीस्थित एक होटलबाट यमुनाका प्रेमी दुर्योधन सुवर्णकार र रामराजेश महतोलाई पक्राउ गरेको थियो। उनीहरूमाथिको अनुसन्धानबाट कञ्चनपुरको बेलौरीका भीम राना र वीरेन्द्र रानालाई समेत हत्याका लागि १ लाख ५० हजार रुपैयाँको सुपारी दिइएको खुलेपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको छ।
प्रहरीका अनुसार राना दाजुभाइले सुपारी लिएर हत्या गरेको र शव व्यवस्थापन गरेको स्वीकार गरेका छन्। उनीहरूलाई हत्याअघि ४० हजार रुपैयाँ र हत्या सम्पन्न भएपछि बाँकी १ लाख १० हजार रुपैयाँ दिने सहमति भएको बयान दिएका छन्।
मृतककी श्रीमती यमुनासँग विवाह हुनुअघिदेखि नै प्रेम सम्बन्धमा रहेको दुर्योधनले प्रहरीसमक्ष बयान दिएका छन्। रोजगारीका सिलसिलामा विदेशमा रहेका दीपक केही महिनाअघि मात्रै तीन वर्षपछि घर फर्किएका थिए। श्रीमतीले भनेअनुसार पुनः विदेश जान नमानेपछि उनको हत्या गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
मृतक दीपकका दुई नाबालक छोराछोरी छन् भने दुर्योधनका तीन छोराछोरी छन्। घटनामा संलग्न यमुनासहित पाँचै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डीएसपी तिमिल्सेनाले बताए।
प्रहरीका अनुसार हत्या भएको पुष्टि भए पनि दीपक सुनारको शव भने अझै फेला परेको छैन।
प्रकाशित: १७ भाद्र २०८३ २१:२४ बुधबार





