१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

गार्मेन्टको सामान भन्दै विदेश पठाउन खोजिएको ८१ लाखभन्दा बढीको सुन–चाँदी बरामद

गार्मेन्टका सामान रहेको भन्दै कुरियरमार्फत विदेश पठाउन खोजिएको पार्सलबाट ८१ लाख रुपैयाँभन्दा बढी मूल्यका सुन तथा चाँदीका गरगहना बरामद भएका छन्। परीक्षणबाट ती गरगहना सक्कली सुन र चाँदीकै रहेको पुष्टि भएको छ।

असार १६ गते जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू रहेको भन्दै विदेश पठाउन लागिएको पार्सलमा शंका लागेपछि गरिएको जाँचका क्रममा ठूलो परिमाणमा सुन तथा चाँदीका गरगहना फेला परेका थिए। बरामद गरिएका गरगहनाको असार १८ गते काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीमा परीक्षण गरिएको थियो।

परीक्षणबाट सुनजस्तो देखिने सबै गरगहना सक्कली सुन र चाँदीजस्तो देखिने गरगहना सक्कली चाँदी भएको पुष्टि भएको जनाइएको छ।

परीक्षण प्रतिवेदनअनुसार बरामद सुनको कुल तौल २८५.१७८ ग्राम रहेको छ, जसको मूल्य ६७ लाख ३४ हजार ३५० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी चाँदीको कुल तौल ३ केजी ९१४.६५० ग्राम रहेको छ, जसको मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ आँकलन गरिएको छ। यसरी बरामद सुन तथा चाँदीको कुल मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ पुगेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा वैध रूपमा खरिद गरिएको सुन तथा चाँदी कानुनी प्रक्रिया अनुसार घोषणा (डिक्लेयर) गरेर विदेश लैजान सकिने व्यवस्था हुँदाहुँदै गरगहनालाई कपडाभित्र लुकाई गार्मेन्टका सामानका रूपमा देखाएर कुरियरमार्फत तस्करी गर्न खोजिएको खुलेको छ।

घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: १८ असार २०८३ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App