जापान आफ्नो कडा अनुशासन, नम्रता र समयको पालनाका लागि विश्वभर उदाहरणीय मानिन्छ।
जापानी आतिथ्य सत्कारको भावना ‘ओमोतेनाशी’, व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई माथि राख्ने सामूहिक भावना र विद्यालयदेखि नै सिकाइने संस्कार यहाँको प्रमुख पहिचान हो। तर हालैको एयोन मल दुर्घटनाले यही कडा अनुशासन र माथिल्लो ओहोदाका व्यक्तिको आदेश बिनाशर्त मान्ने प्रवृत्तिको नकारात्मक पक्ष बाहिर ल्याएको छ।
जुलाई २८ मा कुमामोटो प्रान्तमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। स्थानीय समयअनुसार दिउँसो करिब ४:२७ बजे भूकम्प गएपछि काशिमास्थित एयोन मल कुमामोटोका करिब तीन हजार ग्राहकलाई कर्मचारीहरूले तत्काल बाहिर निकाले। बाहिर निकाल्ने काम करिब ५ बजे सकियो। तर करिब ८० मिनेटपछि साँझ ५:५० बजे ग्यास विस्फोट भयो। यस घटनामा मलका सात जना कर्मचारीको मृत्यु भयो भने धेरै घाइते भए। तीमध्ये दुई जना ह्याबिता कम्पनीका कर्मचारी थिए।
२२ वर्षीया कुरुमी ओटाके सहकर्मीसँगै सुरक्षित रूपमा बाहिर निस्किसकेकी थिइन्। तर कम्पनीका हाकिमबाट पसलको नगद सुरक्षित राख्नु भन्दै भित्र फर्किन निर्देशन आएपछि उनीहरू पुनः भवनभित्र पसे। करिब पाँच मिनेटपछि विस्फोट भयो। ओटाकेले बाहिर पार्किङमा भेटेका आफन्तलाई भनेकी थिइन्, ‘कम्पनीका मान्छेले भनेका छन्, रजिस्टरको पैसा सुरक्षित राख्न जानुपर्छ।’ आफन्तले रोके पनि उनी सहकर्मीसँग भित्र गइन्।
अगस्ट २ मा ओटाकेको शोकसभामा ह्याबिताका कार्यकारीहरूले परिवारसँग माफी मागे र घटनाको लिखित विवरण बुझाए। कम्पनीले नगद सुरक्षित गर्न निर्देशन दिएको स्वीकार गर्यो। बिक्री प्रबन्धकले बताए, ‘सक्नुहुन्छ भने नगद सेफमा राखिदिनुहोस् भनेर भनेको थिएँ। अहिले फर्केर हेर्दा यो जीवनको लायक थिएन।’ उनीहरूले अबदेखि सुरक्षा र निकासीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
स्थानीय सञ्चारमाध्यमका अनुसार ओटाकेकी आमाले आँसु झार्दै भनिन्, ‘मेरी छोरी कहिल्लै फर्केर आउँदिन।’ उनले कम्पनीले सत्य कुरा स्पष्ट रूपमा बताओस् भन्ने माग गरिन्। आफन्तले उनलाई रोकेका थिए तर जिम्मेवारीको बलियो भावना भएकी ओटाके हाकिमको आदेश मान्न बाध्य महसुस गरिन्। एक पुरुष आफन्तले भने, ‘सत्य खुलेको एक कदम अगाडि हो।’ परिवारले कर्मचारीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यस्ता निर्देशनको जवाफदेहिता खोजेका छन्।
एयोन मलमा खोज तथा उद्धार कार्य अगस्ट १ मा सकिएको छ। विस्फोट एलपी ग्यास पाइप भाँचिएर लिक भई जम्मा भएपछि प्रज्वलित भएको आशंका छ। कुमामोटो प्रान्त प्रहरी, दमकल र विशेषज्ञहरूले विस्फोटको कारण र ग्यास सेफ्टी प्रणाली किन काम नगरेको छानबिन गरिरहेका छन्। कर्मचारीलाई पुनः भित्र पठाउने निर्देशनका बारेमा पनि प्रहरी र श्रम मापदण्ड कार्यालयले अनुसन्धान अगाडि बढाएका छन्। एयोन कम्पनीको नीतिअनुसार एकपटक निकासी गरेपछि भित्र जान निषेध छ तर टेनान्ट कम्पनी ह्याबिताले आफ्नै निर्णयअनुसार कर्मचारीलाई फर्काएको थियो।
जुलाई २८ को भूकम्पबाट कम्तीमा ३४ जनाभन्दा बढीको मृत्यु भएको छ भने घाइते सयौं छन्। हजारौं घर क्षतिग्रस्त भएका छन्। नौ हजारभन्दा बढी मानिस आश्रयस्थलमा बसेका छन्। दशौं हजार घरमा पानी र बिजुली आपूर्ति अवरुद्ध छ। यत्सुशिरोको कागज कारखानामा चिम्नी ढल्दा पनि धेरैको ज्यान गएको थियो।
जापानमा कडा पदानुक्रम र हाकिमको आदेश नमान्न नसक्ने संस्कृतिले विपद्का बेला सुरक्षा जोखिम बढाएको उदाहरण विगतमा पनि देखिएका थिए। यो घटनाले कार्यस्थल सुरक्षा र आपत्कालीन निर्देशनको पुनरवलोकनको आवश्यकता देखाएको छ।
प्रकाशित: १८ श्रावण २०८३ १४:२८ सोमबार





