३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
अपराध

ठगी मुद्दामा ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी युएईबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा पाँचथरका ३६ वर्षीय सुवास लावती पक्राउ परेका हुन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भएका लावतीलाई एनसिबि अबुधाबी युएईको समन्वयमा पक्राउ गरी बिहीबार नेपाल फिर्ता ल्याइएको हो।

उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको प्रहरीले जनाएको छ। लावतीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए।

उनले विभिन्न मितिमा पीडितबाट ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएर ठगी गरेको खुल्न आएको छ।

ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाले अनुरोध गरेको थियो।

सोही अनुरोधका आधारमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनीविरुद्ध ‘रेड नोटिस’ जारी भएको थियो। पक्राउ परेका लावतीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App