जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले सरकारी कागजात किर्ते मुद्दाका एक प्रतिवादीलाई ७ बर्ष पछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पक्राउ पर्नेमा ११ महिना ३ दिन कैद र ६६ हजार ६६७ रुपैयाँ जरीवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवा घर भई हाल फुङलिङ नगरपालिका वडा नं २ बस्ने अरुणा कार्की रहेकी छन् । प्रहरीले कार्कीलाई बिहीबार बिहान वीरेन्द्रचौकबाट नियन्त्रणमा लिई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हेरोइनसहित तीनजना पक्राउ
ताप्लेजुङ प्रहरीले लागु औषध सहित तीनजनालाई पक्राउ गरेको छ । लागु औषध खैरो हेरोइन सहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
यादवका अनुसार पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ५ का २२ बर्षिय सलोन श्रेष्ठ,फक्ताङलुङ गाउँपालिका वडा नं १ का १९ बर्षिय सलोन लिम्बू, फुङलिङ नगरपालिका वडा नं ३ बस्ने २३ बर्षिय ज्ञानेन्द्र गुरुङ रहेका छन् ।
प्रहरी निरीक्षक यादवका अनुसार शिक्षा लाइन स्थित यमराज लिम्बूको घर कोठामा लागुऔषध खैरो हेरोइन बिक्री हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कोठाको खानतलासी गर्दा प्लाष्टिक सहित ३ सय २० मिलीग्राम र प्लाष्टिक बाहेक १ सय २० मिलीग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थका साथ तीनजना व्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएका तीनैजनालाई जिल्ला अदालत ताप्लेजुङबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३)बमोजिम ७ दिनको म्याद लिई अनुसन्धान सुरु भएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रकाशित: २४ वैशाख २०८३ १९:४१ बिहीबार





