विराटनगर, बैशाख २४
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश र संघीय सरकार कुनैले पनि निजी र सरकारी भनेर सञ्चारमाध्यमहरूलाई विभेद गर्नु नेपालको कानुन र संविधान विपरीत हुने बताएका छन् । बिहीबार राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले निजी र सरकारी भनेर कुनै पनि संचार माध्यमलाई प्रदेश सरकारले विभेद नगर्ने स्पष्ट पारे । मुख्यमन्त्री कार्कीले निजी सञ्चार माध्यमसम्बन्धी विज्ञापन नीतिमा संघीय सरकारले लिएको नीति सच्चिने आशा व्यक्त गर्दै यदि त्यस्तो नभए प्रदेश सरकारले नीति र आवश्यक कानुन बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले भने, ‘हामी सञ्चार माध्यमलाई अंकुश लगाउने र संकुचन गर्ने कुनै पनि काम गर्दैनौं ।’ निजी क्षेत्रलाई बन्देज लगाउने कुरा नेपालको संविधान विपरीत हुने चर्चा गर्दै उनले प्रदेश सरकार चाँडै नै प्रादेशिक प्रतिष्ठान गठन गरेर पत्रकारको हितमा काम गर्ने तर्फ अग्रसर भएको बताए ।
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हरेक वर्ष अग्रज पत्रकारहरुलाई दिँदै आएको सम्मानमा कुनै कमी नआउने कार्कीले बताए । उनले पत्रकारितालाई अगाडि बढाउन लागि प्रदेश सरकारले आगामी वर्षदेखि थप कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । २०७५ सालदेखि हरेक वर्ष कोशी प्रदेश सरकार पुरस्कार वितरण गर्दै आएको छ ।
यो वर्ष प्रादेशिक पत्रकारिता पुरस्कारबाट कोशी प्रदेशका ८ जना पत्रकार पुरस्कृत भएका छन् । बिहीबार कोशी प्रदेश सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण गरेको हो । प्रादेशिक पत्रकारिता पुरस्कारको राशी जनही १ लाख नगदसहित सम्मानपत्र रहेको छ ।
पुरस्कृत हुने पत्रकारहरूमा शेखर रेग्मी, सिद्धराज राई, विवेक गौतम, गोपाल दाहाल, रेजिना गौतम, मनोज श्रेष्ठ, श्यमसुन्दर सुतिहार र सन्तोष रुचाल रहेका छन् । पुरस्कार बितरण कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीलगायतले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
प्रकाशित: २४ वैशाख २०८३ १९:४९ बिहीबार





