२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अपराध

शंकास्पद गतिविधिसहित नेपाल बसेका चार चिनियाँ पक्राउ

नेपालमा शंकास्पद गतिविधिसहित बसिरहेका चार चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यावसायिक भिसा लिएर नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुकरबार नियन्त्रणमा लिएको हो ।  

नियन्त्रणमा लिइएकामा एक महिला र तीन पुरुष छन् । काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको थियो ।  

ठूलो संख्यामा चिनियाँ नागरिक बस्दै आएको सो स्थानलाई चाइनिज हाउजिङका नामले समेत चिनिन्छ। व्यावसायिक भिसा लिए पनि उनीहरुलाई आफ्नो व्यवसाय, कम्पनीको नाम र सो सम्बन्धमा अन्य कुनै पनि जानकारी नभएको पाइएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

उनीहरुले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीलाई जागिरको प्रलोभनमा पारी सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र  टिकटकमार्फत् अन्य चिनियाँसँग साथी बनाई बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसका साथै केही नेपाली युवतीहरुलाई चीनमा लगेर बिहे गर्ने भनी चीनसमेत पठाएको पाइएको विभागले जनाएको छ ।  

म्हैपीमा घर भाडामा लिएर नेपाली युवतीहरु राख्ने र नेपाललाई केन्द्रमा राखी नेपाली युवतीहरुलाई विभिन्न मुलुकमा साथै लिएर अन्य मुलुक भ्रमण गर्ने गरेको पाइएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।  

नियन्त्रणमा लिईएकामध्ये दुई जना विगत १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर बस्दै आएको पाईएको छ। भिसा जाँच गर्ने क्रममा उनीहरूले पासपोर्ट र भिसा देखाउन नसकेको तथा अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीलाई दुर्व्यवहार समेत गरेका छन्।  

अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिन सक्ने व्यवस्था छ । अध्यागमन नियमावली, २०५१ मा विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाईने छैन भन्ने व्यवस्था छ । यसरी गैरकानूनी रुपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधी तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानूनी व्यवस्था रहेको ढकालले बताए ।  

नेपालमा भिसाको उद्देश्य विपरित बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकलाई नियन्त्रणमा लिई अध्यागमन कानून बमोजिम कारवाही हुने उनले जानकारी दिए ।

प्रकाशित: २८ कार्तिक २०८२ १८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App