सशस्त्र प्रहरी बल सर्लाहीले विहीवार डेढ करोडभन्दा बढीको सामान भन्सार दाखिला गरेको छ । बुधवार राति विशेष सूचनाको आधारमा एक गोदाम घरमा छापामारी गरी बरामद गरेको सामान भन्सार चलान गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेड क्वार्टर सर्लाहीबाट सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्दको कमान्डमा बुधवार राति सर्लाहीको ईश्वरपुर नगरपालिका २ राइटरखोरस्थित तुलसी पशुपालन फर्ममा छापामारीको लागि ५१ जनाको टोली खटिएको थियो । सशस्त्र प्रहरीको टोलीसँगै भन्सार कार्यालय मलंगवाका भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको कमान्डमा पनि ५ जनाको टोली छापामारीमा पुगेको थियो ।
भारतबाट अवैध रुपमा विभिन्न सामान भित्र्याएर फर्ममा राखेको गोप्य सूचना सशस्त्र प्रहरीले प्राप्त गरेको थियो । उक्त सूचनाको आधारमा सशस्त्र प्रहरीका सर्लाही प्रमुख एसपि चन्दको टोलीले फर्ममा छापामारी गरी सामान बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको कपडा र प्लाटिनम ७ प्रिमियम ब्लेन्ड ब्लु चुरो बरामद गरी सशस्त्र प्रहरीले भन्सार चलान गरेको हो ।
भन्सार दाखिला गरिएको सामानहरु १ करोड ५८ लाख ५९ हजार रुपैया बराबरको भएको मूल्यांकन गरिएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।
नेपाल-भारत सीमाक्षेत्र अन्तर्गत सर्लाहीको संग्रामपुर, पर्सा, नारायणपुर लगायतको नाका हुँदै भारतबाट नेपालतिर ठुलो परिमाणमा तस्करी भइरहेको छ । सर्लाहीका नाकाहरुबाट निर्वाध तस्करी भइरहँदा सम्बन्धित निकायले खासै चासो दिएको छैन ।
प्रकाशित: ८ श्रावण २०८२ १८:५४ बिहीबार





