कैलाली प्रहरीले गोदावरी नगरपालिका–८ स्याउले गाउँका दुई जनालाई आज दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा २६ वर्षीय राजु चौधरीको घरमा लुकाइछिपाइ राखिएको एक नाल भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टाको आधा भाग र २३ वर्षीय चन्द्रबहादुर चौधरीको घरबाट एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिए।
साथै प्रहरीले गोदावरी नगरपालिका–२ को एक होटेलबाट बझाङ जिल्ला छबिस पाथिभरा गाउँपालिका ३९ वर्षीय गगन बोहरालाई एक किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ।
त्यसैगरी, गोदावरी नगरपालिका–१ बाट बैतडी, सूर्नया गाउँपालिकाका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षकै महेश विकलाई हिँडिरहेको अवस्थामा शङ्का लागि जाँच गर्दा निजहरूको साथबाट चार सय ६९ ग्राम चरेससहित पक्राउ गरिएको छ। लागुऔषध चरेस लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो। रासस
प्रकाशित: ९ श्रावण २०८२ २१:०९ शुक्रबार





