उदयपुरबाट एकै दिन फरक-फरक दुई स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्। शनिबार साँझ ५ः१५ बजे त्रियुगा नगरपालिका-६ लालपत्ताबाट दुई मोटरसाइकलमा तीन जना र बेलका नगरपालिका-९ रामपुरबाट एउटा मोटरसाइकलमा दुई जना पक्राउ परेका हुन्।
उदयपुर र सप्तरीको सीमा स्थल लालपत्ता प्रहरी चौकीको टोलीले नियमित सवारी साधनमा चेकजाँच गर्ने क्रममा दुई मोटरसाइकलमा लुकाइछिपाइ गाईघाटतर्फ भित्र्याउँदै गरेको १४.१३ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।
सप्तरीको कद्माहाबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको बा ४१ प ५५०८ नम्बरको मोटरसाइकलमा ३.२४ ग्रामसहित चालक त्रियुगा १३ का ३९ वर्षीय सशीकान्त चौधरी पक्राउ परेका हुन्। त्यसैगरि प्रदेश १–०२–०५८ प ७०७५ नम्बरको अर्को मोटरसाईकलमा सवार त्रियुगा ४ बगाहाका ३७ वर्षीय दाबेन्द्र मगर १०.८९ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्। उनले हाँकेको मोटरसाईकल पछाडि सवार त्रियुगा ९ गैरुनका ३५ वर्षीय प्रेम चौधरीसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उनीहरू सवार २ वटै मोटरसाइकलसहित सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, बेलका नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले चेकजाँचकै क्रममा सोही दिन राति ११ः३० बजे बेलका ९ रामपुर बजारबाट ८० मिलिग्राम ब्राउनसुगरसहित थप दुई जनालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका-३ बसाहाबाट रामपुरतर्फ जाँदै गरेको स ३ प ९२१४ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई लाँदै गरेको ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चालक चौदण्डीगढी ४ भोर्लेनीका २६ वर्षीय सञ्जिव राई पक्राउ परेका हुन्।
सोही मोटरसाइकलको पछाडि सवार सोही ठेगानाका १९ वर्षीय प्रवेश राईको साथबाट अन्य लागूऔषधसमेत बरामद भएको छ। उनको साथबाट स्पास्पेन ४ ट्याब्लेट, ट्रामाडोल ३ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। उनीहरू दुवैलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ। उनीहरुको साथबाट नेपाली रुपैयाँ १० हजार ७ सय १५ समेत बरामद गरी इप्रका रामपुर ठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ मंसिर २०८२ १३:४२ आइतबार





