२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

पक्राउ परे नक्कली सुनको ‘बिस्कुट’ देखाएर लुट्ने गिरोहका योजनाकार धकलबहादुर

मोरङमा सुनजस्तो देखिने पहेँलो धातु (नक्कली सुन) को प्रलोभन देखाएर ठगी एवं लुटपाट एक संगठित गिरोह पुनः सक्रिय भएको पाइएको छ । प्रहरीले सो गिरोहका मुख्य योजनाकार मानिने झापा कनकाई–९ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङलाई मोरङ प्रहरीले पक्राउ गरेसँगै यो तथ्य बाहिर आएको हो ।

गत वैशाख २ गते ७८ वर्षीया सावित्रादेवी घिमिरे पथरीशनिश्चरेस्थित छोरीको घरबाट सार्वजनिक बस चढेर आफ्नो घर बेलबारी फर्किंदै थिइन् । बेलबारीमा ओर्लिएपछि दुई अपरिचित व्यक्तिले उनलाई ‘सुन पसल कहाँ छ?’ भन्दै कुरामा अलमल्याए । उनीहरूले आफूसँग ‘यूकेबाट ल्याएको सुन’ भएको भन्दै पहेँलो धातुको टिल (बिस्कुट) देखाएर उनलाई राजमार्गबाट दक्षिणतर्फको एकान्त स्थानमा पु¥याए ।

वृद्धाले प्रलोभनमा पर्न नमानेपछि उनीहरूले डर–त्रास देखाई उनको गलामा रहेको १ तोला ६ आनाको सक्कली सुनको सिक्री जबरजस्ती लुटेर भागेका थिए । लुटेराहरूले वृद्धाको हातमा भने नक्कली सुनको टिल थमाइदिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।  

उनका अनुसार पक्राउ परेका थिङ यसअघि पनि पटक–पटक यस्तै ठगी र लुटपाटमा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनी २०८१ मंसिरमा मात्रै ६ जनाको गिरोहसहित पक्राउ परी कानुनी कारबाही भोगेर छुटेका थिए । तर, जेलबाट निस्किएलगत्तै उनले पुरानै शैलीमा लुटपाट सुरु गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको कमाण्डमा खटिएको टोलीले सीसीटीभी फुटेज र हुलियाका आधारमा थिङलाई जेठ ६ गते झापास्थित उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट लुटिएको सिक्री, नगद र मोबाइलसमेत बरामद भएको बताउँदै, एसपी कटवालले भने, ‘उनलाई बेलबारी ल्याएर पीडित वृद्धाबाट सनाखतसमेत गराइएको छ । थिङले गत चैत ९ गते पनि बेलबारीकै ६२ वर्षीया धनीमाया तामाङको कानको बेरुवा रिङ लुटेको स्वीकार गरेका छन् ।’

प्रहरीका अनुसार प्रारम्भिक बयानमा थिङले यसअघि पनि वृद्धा महिलाहरुलाई नक्कली सुन देखाएर ललाईफकाई गरगहना खोस्ने काममा संलग्न रहेको स्वीकार गरेका छन् । अदालतबाट म्याद थप गरी उनीविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्का व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो गिरोहले झापा, मोरङ, सुनसरीलगायतको ठाउँ विशेष गरी हटिया, अस्पताल र सार्वजनिक सवारीमा एक्लै हिँड्ने सोझा वृद्धवृद्धालाई निसाना बनाउने गरेको पाइएको छ ।

यसअघि २०८१ मंसिर दोस्रो साता पनि मोरङ प्रहरीले थिङसहित ६ जनाको समूहलाई यस्तै प्रकृतिको ठगी घटनामा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसमेत रहेका थिए । कारबाहीपछि छुटेका थिङ पुनः उही आपराधिक गतिविधिमा संलग्न भएको पाइएको एसपी कटवालले बताए ।

प्रकाशित: ९ जेष्ठ २०८३ २०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App