कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित उक्त वन उपभोक्ता समूहका अध्यक्ष मडैले समूहका सचिव र कोषाध्यक्षको जानकारीबिना नक्कली बैठक माइन्युट तयार गरी चेकमा किर्ते हस्ताक्षर गरेका थिए । सो चेकमार्फत उनले २०७८ मंसिर १६ देखि २०७९ वैशाख २५ सम्म सातवटा चेक प्रयोग गरी जम्मा २० लाख १५ हजार रुपैयाँ रकम निकालेका थिए ।
अनुसन्धानका क्रममा उनले त्यस रकममध्ये दुई लाख मात्र फिर्ता गरी बाँकी १८ लाख १५ हजार रकम हिनामिना गरेको प्रमाणित भएको आयोगले जनाएको छ । मडैले समितिको डडेल्धुरा शाखामा रहेको बैंक खाताबाट रकम निकाल्नुको सट्टा अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगर शाखाबाट रकम निकालेको समेत पाइएको छ ।
आयोगको टोलीले गरेको स्थलगत मुचुल्का, डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदन र फरेन्सिक परीक्षण प्रतिवेदनले पनि मडैले किर्ते सहिछाप गरी रकम निकालेको पुष्टि गरेको छ ।
यसरी गरिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहरिने आयोगको निष्कर्ष छ । त्यसअनुसार मडेलाई सोही ऐनका प्रावधानअनुसार कैद र जरिवानाको सजाय मागदाबी गर्दै बिगो १८ लाख १५ हजार रुपैयाँ असुल उपर गर्न मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
प्रकाशित: १२ कार्तिक २०८२ १६:५९ बुधबार





