१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अपराध

सामुदायिक वनमा ३९ लाख बढी हिनामिना गरेको आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वनमा विभिन्न कार्यक्रमका रकम हिनामिना गरेको आरोपमा उपभोक्ता समूहका पूर्व पदाधिकारी तथा लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले उपभोक्ता समूहका पूर्व पदाधिकारी तथा लेखापरीक्षकविरुद्ध रु ३९ लाख १२ हजार ५६० रुपैयाँ ८४ पैसा हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म काठ बिक्रीबाट प्राप्त आम्दानी झाडी सफाइ, अग्नि रेखा निर्माण, वृक्षारोपण, वन हेरालु, भैँसी तथा बाख्रा पालन, डढेलो नियन्त्रण, मौरीघारलगायत कार्यक्रमका नक्कली बिल तथा भरपाई तयार गरी खर्च देखाउँदै हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा उक्त अवधिमा काठ बिक्री तथा आपूर्तिबाट प्राप्त आम्दानीमध्ये कुल रु ३९ लाख १२ हजार ५६० रुपैयाँ ८४ पैसा हिनामिना भएको देखिएको आयोगले जनाएको छ।

आयोगले पूर्व अध्यक्ष खीम बहादुर सावद, सचिव बनौली रोकाय र कोषाध्यक्ष जमान सिंह धामीसँग बिगो रु १६,४३,५८६ मागदाबी गरेको छ।

यस्तै, पूर्व अध्यक्ष पदम सिंह सावद, सचिव पूर्ण देव धामी, कोषाध्यक्ष रुद्र बहादुर बन्तोलासँग बिगो रु २२,६८,९७४ र पूर्व अध्यक्ष हर्क बहादुर बुढा, सचिव तुल्सी दानी, कोषाध्यक्ष चक्र बहादुर सावद रु, ३,९०,००० मागदाबी गरेको छ।

यस्तै, लेखापरीक्षण प्रतिवेदनमार्फत अनियमिततालाई सहयोग गरेको आरोपमा दर्तावाला लेखापरीक्षक दिल्लीराम पाठक तथा प्रेम बहादुर बिसीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐनको दफा १९(१) बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८३ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App