१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अपराध

अभिषेक अपहरणपछि हत्या प्रकरण : पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु

सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाका १७ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या प्रकरणमा सिरहा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

अहिले नै संलग्न यही हो भन्न सकिने अवस्था छैन तर छिट्टै यो अपराधमा संलग्नहरूलाइ कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए। घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर झिकाइएको छ।

आइतबार घर नजिकैको चोकबाट अपहरित अभिषेकको हत्या गरिएको अवस्थामा आज बिहान (मंगलबार) शव फेला परेको छ। महतोको शव घरबाट एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ।

हातखुट्टा बाँधेर शरीरमा एसिड खन्याई हत्या गरिएको शव आँपको रुखमुनि फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले बताए। घटनास्थल मृतकको घर नजिकै रहेको उनले बताए।  

आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए। त्यसपछि उनी घर फर्किएनन्। परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन्। सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो।  

अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिए पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारजनले प्रहरीलाई सोमबार नै दिएका थिए। समयमै सम्पूण जानकारी प्रहरी दिँदा समेत छोरालाई सकुशल उद्धार गर्न नसकेको प्रहरीप्रति महतो परिवारको आक्रोश छ। प्रहरीको निष्क्रियताका कारण अभिषेकले ज्यान गुमाउनु परेको पीडित परिवारको गुनासो छ।  

यता, प्रहरीले भने घटना अपहरण हो भन्ने पुष्टि गर्नमै समय बिताएको स्थानीयको गुनासो छ। 

प्रकाशित: ७ आश्विन २०८२ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App