जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पछिल्लो तीन महिनामा ८६ वटा अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये ३३ वटा मुद्दा फछ्र्योट भएका छन् भने ५३ वटा बाँकी छन्। मुद्दामा संलग्न ५६ जना पक्राउ परेका छन् भने ३६ जना फरार रहेको प्रहरीको त्रैमासिक तथ्यांकले देखाएको छ।
गम्भीर अपराधतर्फ पाँच वटा जबरजस्ती करणी र दुई वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख ठाकुर प्रसाद पोखरेलले बताए । बहुविवाहका चार मुद्दासमेत दर्ता भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा अपहरण र शरीर बन्धकका घटना भने यो अवधिमा दर्ता भएका छैनन्।
लागुऔषधतर्फ १२ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीले २७ ग्राम ७४ मिलिग्राम ब्राउनसुगरसहित विभिन्न औषधिजन्य लागुऔषधका ५१८ ट्याब्लेट बरामद गरेको छ।
आत्महत्याका घटना पनि चिन्ताजनक देखिएका छन्। तीन महिनामा १७ जनाले झुन्डिएर आत्महत्या गरेका छन्।
सवारीसम्बन्धी अपराधतर्फ दुई वटा सवारी ज्यान र दुई वटा सवारी अंगभंगका घटना दर्ता भएका छन्।
यस अवधिमा प्रहरीले अवैध हातहतियारतर्फ नौ थान भरुवा बन्दुक बरामद गरेको छ। ७५ लिटर अवैध घरेलु मदिरा तथा २५ किलो औषधि मर्चा बरामद गरी २.५ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ। भन्सार छलीका सामान करिब १९ लाख ९८ हजार रुपैयाँ बराबरको बरामद गरिएको छ।
यसअघि २०८२/८३ को जेठ ८ गतेदेखि असार मसान्तसम्म सुर्खेतमा १४७ मुद्दा दर्ता भएका थिए भने १०८ जना पक्राउ परेका थिए। त्यस अवधिमा ७४ मुद्दा फछ्र्योट भएका थिए। यसरी अघिल्लो अवधिको तुलनामा पछिल्लो तीन महिनामा मुद्दा दर्ता र पक्राउ संख्या घटेको देखिन्छ।
प्रकाशित: ८ भाद्र २०८३ २०:३९ सोमबार





-600x400.jpg)