जेन-जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भ्रष्टाचारको अन्त्य, सुशासन कायम तथा सामाजिक सञ्जाल बन्दको विरोधमा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
सोही मौका पारेर प्रहरीको हतियार लुट्ने पोखरा–४ बस्ने एक किशोरलाई हतियारसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो । ती किशोरले वडा प्रहरी कार्यालय पोखरा–१ बगरको स्वामित्वमा रहेको चाईनिज पेस्तोल टाईप ५४ (म्गाग्जिन नभएको) लुटेर लगेका थिए ।
प्रहरी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गर्नेहरुको खोजी गर्ने क्रममा ती किशोरलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । ती किशोरलाई २०८२/८३ कास्की ३१ नाम दिएर हिरासतमा राखिएको छ । पक्राउ परेका उनीबिरुद्द जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान जारी राखिएको उनले बताए ।
त्यस्तै, पछिल्लो क्रममा कास्की प्रहरीले जेन-जी आन्दोलनमा तोडफोड तथा आगजनीको मौका पारेर सामान लुटपाट गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । प्रहरीले पोखरा–५ का २८ वर्षिय दीपक कुँवर र धादिङ घर भई हाल पोखरा–५ बस्ने २३ वर्षिय दीपक राना मगरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डेल कम्पनीका कम्प्युटरको सिपियू ३ थान, मनिटर एक थान, मल्टीप्लग २ थान, एक थान डिभाईस र विभिन्न व्यक्तिहरुको सवारी चालक अनुमती पत्र लाईसेन्स बरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।
उनीहरुलाई पनि जिल्ला अदालत कास्कीमा उपस्थित गराई आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा ४ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको उनले बताए ।
प्रकाशित: २४ कार्तिक २०८२ २०:०७ सोमबार





-1200x560-600x400.jpg)