जाली नोट, हतियार तस्करी तथा लागुऔषध कारोबारीका रूपमा परिचय कमाएका युनुस अन्सारी १५ लाख धरौटी रकम नतिरेर सोमबार केन्द्रीय कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले नौ करोड नौ लाख ५३ हजार सात सय नौ रुपैयाँ बिगोमा जम्मा १५ लाख रुपैयाँ धरौटी माग गर्दा उनी उक्त रकम नतिरी खुरुखुरु जेल जान राजी भएका हुन्। जेल उनका लागि नौलो ठाउँ होइन। उनले लामो समय जेलमा व्यतीत गरिसकेका छन्।
अन्सारी गत जेठ ११ गते मात्रै जेलमुक्त भएका थिए। जेलबाट छुटेकै दिन प्रहरीले उनलाई हिरासतमा लियो। भारतीय ‘सार्प सुटर’ हरूको निगरानीमा रहेका अन्सारीलाई जाली नोटको कसुरमा सजाय सकेर कारागारबाट मुक्त भएलगत्तै प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेको थियो। जेठ ११ गते नक्खु कारागारबाट मुक्त भएका उनलाई पुरानो मुद्दामा फेरि पक्राउ गरेपछि शुक्रबार अदालतमा मुद्दासहित लगिएको थियो। त्यसबिचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर थप बयान लिने र अनुसन्धान गर्ने काम गरेको थियो। उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरिएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताएका थिए।
प्रहरीले चाहेको भए जेलभित्रै रहेका बेला सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान हुन सक्थ्यो तर प्रहरीले उनी छुट्ने समय नै कुरेको थियो। उनी पक्राउ पर्नुमा सम्पत्ति शुद्धीकरणको मुद्दा मात्र होइन, भारतीय अपराधीहरूले उनीमाथि निगरानी गरिरहेको र पुन: आक्रमण गर्न सक्ने सम्भावनालाई पनि ध्यानमा राखेको आशंका गरिएको छ। जेलबाट छुटेलगत्तै पक्राउ गरिएका उनलाई सोमबार धरौटी नबुझाई कारागार चलान गरिएपछि त्यस्तो आशंकामा बल पुगेको छ। सिआइबीको हिरासतबाट छुट्न उनले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए तर अदालतले त्यसलाई खारेज गरिदिएको थियो।
अन्सारीले शुक्रबार सिआइबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखासमेतलाई प्रतिपक्षी बनाउँदै रिट दायर गरेपछि उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले सो रिट खारेज गरेको थियो।
जेठ ११ मा युनुस छुट्ने भएपछि सिआइबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई पत्राचार नै गरेको थियो। त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सिआइबीको जिम्मा लगाइएको थियो। तर सोमबार उनलाई जिल्ला अदालतले धरौटी माग गरेको थियो। अदालतका कर्मचारीहरूले धरौटी राख्न सहजीकरण गरिदिने भने पनि परिवारका सदस्यहरूले अहिले धरौटी नराख्ने जानकारी गराएपछि उनलाई सुन्धरास्थित केन्द्रीय कारागार पठाइएको थियो।
प्रहरी अनुसन्धानबाट उनले सञ्चालन गरेको नेसनल टेलिभिजन नै अवैध आर्जनबाट स्थापना भएको खुलेको छ। यो टेलिभिजन सञ्जालनमा रहेका बेला उनी पक्राउ परेका थिए। अन्सारी पहिलो पटक २०६६ पुस १३ मा २५ लाख ४४ हजार पाँच सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए। उनी अर्को महिना माघ १७ गते कारागार चलान भएका थिए। त्यतिबेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए। प्रहरीले त्यतिबेला सञ्चालनमा रहेको र यतिबेला बन्द भएको सो टेलिभिजनको लगानी अवैध रहेको जनाएको छ।
२०६७ असोज ६ मा पुन: ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए। त्यसपछि करिब पाँच वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा जेलमुक्त भएका थिए । तेस्रोपटक २०७० माघ १० मा पुन: ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटेका थिए। २०७६ जेठ १० मा पुन: सात करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे। यसरी हेर्दा उनी पटकपटक जाली नोट तस्करीमा संलग्न छन्। जाली नोट तस्करी गरिरहेको तथा जेल सजाय भोगेको अवस्थामा उनी भारतीय सार्प सुटरहरूको निसानामा समेत परेका थिए।
पछिल्लो पटक २०७६ सालका पक्राउ परेका उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। त्यही कैद सजाय उनले जेठ ११ गते भुक्तान गरी छुटेका हुन्।
तर उनी बाहिर आएपछि प्रहरीले असुरक्षित देखेर नियन्त्रणमा लिएको बताइन्छ। यद्यपि प्रहरी यो विषयमा खुलेर कुरा गर्न चाहँदैन। ‘अन्सारीमाथि बाहिर रहँदा सुरक्षा चुनौती छ भनेर हामीले सुझाव दिएका छौं,’ एक प्रहरी अधिकारीले सोमबार भने। उनका अनुसार अन्सारीलाई अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था हो।
अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन्। केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेकै बेलामा समेत अन्सारीमाथि भारतीय सुटर जसमित सिंह भनिने मनमित भाटियाले २०६७ फागुन २६ मा गोली हानी हत्या प्रयास गरेका थिए। उनीमाथि गोली प्रहार गर्ने भारतीय नागरिक जसजित सिंह (मनमित सिंह भटिया) २०८० असार १२ जेलमुक्त भएलगत्तै पुन: पक्राउ परी बाँकेको अर्को घटनामा जेलमै छन्।
अन्सारीमाथिको गोलीकाण्डमा १२ वर्ष जेल बसेर छुटेका उनी अर्को हत्याकाण्डमा पक्राउ परेर फेरि जेल चलान भएका थिए। बाँकेमा उनीमाथि अर्को हत्याको आरोप थियो। नेपालगन्जको लालीगुराँस होटलमा २०६६ असोज १९ गते अब्दुल मजिद मनिहारको भारतीयले गोली हानी हत्या गरेका थिए। मनिहारको हत्याको कारण पनि भारतीय नक्कली नोटको कारोबार नै रहेको पुष्टि अनुसन्धानले देखाएको थियो। उनको हत्या भारतीय सुटर जसजित सिंहले गरेको निष्कर्ष थियो।
सोही घटनामा अदालत पेस गरिएकोमा पुर्पक्षका लागि कारागार पठाउने आदेश भएपछि उनलाई जेल चलान गरिएको थियो। मनिहारको हत्यापछि २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथि गोली प्रहार भएको थियो। कैदी चाल्स शोभराजलाई भेट्ने बाहनामा कारागार पुगेका जसजित सिंहले अन्सारीमाथि गोली प्रहार गरेका थिए। अन्सारीमाथि जसजितले हानेको चार राउन्ड गोली नपड्किएपछि पाचौं गोली अन्सारीको कुममा लागेर उछिट्टिएको थियो। उनको ढाडमा अहिले पनि त्यसबेला प्रहार भएको गोलीको चोट रहेको छ। यसपटक भने उनी छुट्न चाहेर पनि कारागार चलान भएको बताइन्छ।
२०७९ असोज ३ गते काठमाडौंको गोठाटारस्थित आफ्नो गार्मेन्ट उद्योग अगाडि लखेटीलखेटी गोली हानेर सर्लाहीका लाल मोहम्मदको हत्या गरिँदा अन्सारी पनि ‘रेड जोन’ मा रहेको चर्चा भएको थियो। भारतीय खुफिया संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) ले ‘रेड जोन’ मा राखेको लाल मोहम्मदको हत्यापछि पालो उनै अन्सारीको भएको चर्चा चलेको विषयमा अन्सारी अनभिज्ञ थिएनन्। नेपाल प्रहरीको विशेष ब्युरोले उनी ‘रअ’ को ‘रेड जोन’ मा रहेको भन्दै एक दशकअघि नै अन्सारी उच्च निगरानी आवश्यक रहेको भनी प्रतिवेदन तयार पारेको थियो।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बुझाएको उक्त प्रतिवेदनमा कूटनीतिक माध्यमबाट थप प्रमाण जम्मा पारेर कानुनी कारबाही गर्नुपर्ने भनिएको थियो। लाल मोहम्मदको विषयमा पनि सोही प्रकारको प्रतिवेदन रहेको थियो। तर उनको हत्यामा सरकार गम्भीर बनेको थिएन। लाल मोहम्मदको हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन। अन्सारी भने सोमबार लुरुलुरु कारागार जाँदा दुई वर्षअघि हत्या गरिएको लाल मोहम्मद प्रकरणलाई बिर्सन मिल्ने अवस्था छैन।
प्रकाशित: २४ असार २०८२ ०६:२० मंगलबार





