बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वामा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्।
बुधबार दिउँसो भएको उक्त घटनालगत्तै प्रहरीले हत्या आरोपमा उनका श्रीमान्लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार, स्थानीय बच्चा मियाले आफ्नी श्रीमती आसिमा खातुनको हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण मियाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको देखिएको एसपी तामाङले जानकारी दिए।
घटनालगत्तै भाग्न खोजिरहेको अवस्थामा मियालाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय, बाराका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सुरेश भट्टले हत्या गरेर भाग्दै गर्दा अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको बताए।
पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताए। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रकाशित: १८ असार २०८२ १६:४४ बुधबार

