३० असार २०८२ सोमबार
image/svg+xml
अपराध

प्रहरीको भेषमा सर्वसाधारणलाई ठग्ने पक्राउ

विराटनगरमा आफू प्रहरी हो भन्दै सर्वसाधारणलाई धम्काएर पैसा असुल्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-१२ का २५ वर्षीय धनकुमार थारुलाई शुक्रबार विराटनगर-१६ स्थित रानी-जोगबनी सडक खण्डबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँदालले जानकारी दिइन।

पक्राउ परेका थारुले शारीरिक रूपमा अपांगता भएका व्यक्तिलगायत सर्वसाधारणसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी चुँदालले भनिन्, ‘भारतको जोगबनीबाट घरयासी सामान लिएर आउनेहरूलाई दुख दिँदै र धम्क्याउँदै पैसा लिने गरेको पाइयो। आफू प्रहरी हो भन्दै डर त्रास देखाएर पैसा असुल्ने गरेको पाइएपछि उसलाई नियन्त्रणमा लिएर अनुसन्धान र कारबाहीको दायरामा ल्याइएको छ।’

उनले विगतदेखि नै डर र त्रास देखाएर सर्वसाधारणलाई दुख दिँदै र पैसा असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका थारूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असार २०८२ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App