मकवानपुरको थाहा नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ।
आफ्नै छिमेकी देवरले धारिलो हतियार (खुकुरी) प्रहार गरी ५० वर्षीया तुलमाया गोपालीको हत्या गरेका हुन्। घटनालगत्तै फरार भएका हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थाहा नगरपालिका-१, कुन्छाल बस्ने मनोज गोपालीकी श्रीमती ५० वर्षीया तुलमायालाई बिहीबार दिउँसो करिब २:२० बजे छिमेकी देवर नाता पर्ने ३५ वर्षीय विमलमान गोपालीले खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार विमलमानले टाउको र शरीर अलग हुने गरी विभत्स तरिकाले प्रहार गर्दा तुलमायाको घटनास्थलमै मृत्यु भएको थियो।
हत्यालगत्तै आरोपी विमलमान खुकुरीसहित फरार भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ र प्रहरी पोष्ट बज्रबाराहीबाट प्रहरी निरीक्षक सबिनबाबु अर्याल र प्रहरी नायब निरीक्षक सन्तु कुमार लामाको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दिउँसो करिब ३:३५ बजे आरोपी विमलमानलाई थाहा नगरपालिका-३, थानाबजारबाट हत्यामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विमलमानलाई इलाका प्रहरी कार्यालय पालुङमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरी मृतक तुलमायाको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाएको छ। हत्याको कारण भने खुल्न सकेको छैन र प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित: ५ असार २०८२ १८:२५ बिहीबार





