३० असार २०८२ सोमबार
image/svg+xml
अपराध

'बेस्ट ब्रेन' ठगीधन्दाः पीडितले गरेको पत्रकार सम्मेलनमा घुसेर पीडकद्वारा हातपात

वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको 'बेस्ट ब्रेन' एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरूमाथि हातपात गरेका छन् ।

समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि पत्रकार सम्मेलनकै क्रममा हलभित्र प्रवेश गरेर पीडक पक्षका व्यक्तिहरुले हातपात गरेका हुन् । बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदासमेत सुनुवाइ नभएको भन्दै पीडितहरु भरतपुर–४ निवासी अञ्जु कँडेल र शान्ति कँडेलले पत्रकार सम्मेलन गरेका थिए ।  

आफ्ना कुरा राख्दै गर्दा पीडक भनिएका भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने २३ वर्षीय सागर खरेल, काभ्रे पाँचखाल नगरपालिका–८ का ३३ सविन थापालगायतको समूह पुगेर पत्रकार सम्मेलन बिथोलेका थिए । पत्रकार सम्मेलनमा अर्को पक्ष प्रवेश गरेर बिथोलेपछि पत्रकारहरुसँग भनाभन हुँदा पीडकहरुले पत्रकारहरुमाथि हातपात गरेका हुन् ।

घटनाले उग्र रुप लिएपछि चितवनका प्रहरी प्रमुख गोविन्द पुरी घटनास्थलमै पुगेका थिए । घटनालगत्तै नेपाल पत्रकार महासंघ चितवनले पीडित पत्रकारहरुको तर्फबाट प्रहरी प्रमुखलाई दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । जिल्ला अध्यक्ष बसन्त पराजुलीले दोषीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिए । ‘पत्रकार सम्मेलन नै बिथोल्न पीडक पक्ष पुगेका थिए, उनीहरुले पत्रकारहरुमाथि हातपात गर्नु निन्दनीय छ, दोषीलाई कडा भन्दा कडा कारबाही होस्,' अध्यक्ष पराजुलीले भने ।

जवाफमा प्रहरी प्रमुख पुरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि सकेको भन्दै अन्य संलग्नहरुको खोजी भइरहेको बताए । उनले दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाए । प्रहरी प्रमुख पुरीले पीडक पक्षलाई लिएर पत्रकार सम्मेलनमा नपुगेको स्पष्टीकरण समेत दिए । ‘पत्रकारमाथि हातपात गर्ने जो कोही होस्, हामी छाड्दैनौं, केहीलाई नियन्त्रणमा लिइसकेका छौं, अनुसन्धान गरेर अरु संलग्नलाई पनि कारबाही गर्छौं’, प्रहरी प्रमुख पुरीले भने ।

घटनापछि पत्रकार महासंघलगायत सम्बद्ध पत्रकार संघसंगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पीडक प्रहरीसँगै प्रवेश गरि गुण्डागर्दी शैलीमा पत्रकारहरुमाथि आक्रमण गरेको घटनाप्रति घोर भर्त्सना अराजकतालाई प्रोत्साहन गर्ने प्रहरीहरुसहित आक्रमणमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, नेपाल प्रेस युनियन चितवन शाखाका उपाध्यक्ष प्रस्ताव सुवेदी, प्रेस चौतारी नेपालका सचिव लक्षमण गौतम, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना, जनपत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपानेले हस्ताक्षर गरेका छन् ।

पीडकहरुले पत्रकारको क्यामेरा धकेल्ने, खिचेको फोटो, भिडिओ डिलिट गर्न दबाब दिने, कुटपिट गर्ने गर्दा प्रहरी मुकदर्शक भई बसेको थियो ।  

चितवनको बेस्ट ब्रेन एजुकेशनले ठगी गरेको भन्दै पीडितले मागे न्याय

चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसलाई वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोप लागेको छ । कन्सल्टेन्सीले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित अञ्जु कँडेल, सागर भट्टराई र शान्ति कँडेललाई वैदेशिक रोजगारीमा युके पठाउने भन्दै करिब ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको पीडितले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका हुन् ।

वैदेशिक रोजगारीमा बेलायत लैजान्छु भनि ब्रेस्ट ब्रेन एजुकेशनका सञ्चालक राजेन्द्र सापकोटा लगायतका व्यक्तिले ठगी गरेको पीडित अञ्जु कँडेलले बताइन् । ‘एक वर्ष अगाडि म र श्रीमान सागर भट्टराई विदेश जाने भन्दै पटक–पटक गरेर ४६ लाख बुझाएका थियौँ । युके नपठाएपछि पैसा फिर्ता माग्दा हामीलाई उल्टै धम्काउने काम भएको छ’ पीडित कँडेलले भनिन्, ‘अहिले उहाँ (राजेन्द्र सापकोटा) फरार हुनुहुन्छ, उल्टै आफ्ना मान्छे लगाएर धम्काउने काम गर्नुभएको छ ।’

बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिकामा समेत उजुरी दिँदा समेत न्याय पाउन नसकेको उनले गुनासो गरिन् । अहिले कमला सापकोटा, अर्जुन सापकोटा लगायतका व्यक्तिले धम्काउने गरेको उनले आरोप समेत लगाइन् । उनीहरुविरुद्ध पनि अहिले वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा उजुरी दिएको उनले बताइन् । यस्तै शान्ति कँडेलले आफ्नो बैंक खाता प्रयोग गरेर उनीहरुले २५ लाख ५० हजार रुपैयाँ ठगी गरेको बताइन् ।

‘राजेन्द्र सापकोटाले वैदेशिक रोजगारीका लागि जान तयारी गरेका वर्षा वि.क. र यमुना घर्तिमगरलाई मेरो खाता नम्बर दिएर १७ लाख रुपैयाँ हाल्न भनिएको रहेछ । आइपिएसबाट पैसा आएकाले मलाई कस्ले पैसा पठायो थाहा भएन । पछि मविरुद्ध प्रहरीमा उजुरी परेपछि थाहा भयो,’ उनले भनिन् ‘मेरो नाउमा वैदेशिक रोजगार विभागमा मुद्दा हाली पक्राउ पुर्जी काटेर मलाई थुनामा हालेपछि हर्जनासहित २५ लाख ५० हजार रुपैयाँ तिरेर म निस्के । अहिलेसम्म त्यो रकम पाउन सकेकी छैन ।’ अहिले विद्युतीय कारोवार ऐन अन्तरगत पीडक पक्षले आफुहरु माथि मुद्दा चलाएको उनले बताइन् ।

अभियन्ता भनिने सापकोटासहित पाँच जना पक्राउ

चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

बेस्ट ब्रेनका मुख्य संचालक राजेन्द्र सापकोटा, सामाजिक अभियन्ता भन्ने अर्जुन सापकोटा, भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने २३ वर्षीय सागर खरेल र काभ्रे पाँचखाल नगरपालिका–८ का ३३ सविन थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार पक्राउ पूर्जी जारी भएर फरार भएका बेस्ट ब्रेनका मुख्य संचालक राजेन्द्र सापकोटालाई काठमाडौंमा पक्राउ गरिएको हो ।

यस्तै सामाजिक अभियन्ता भन्ने अर्जुन सापकोटासहितका ४ जनालाई भरतपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अर्जुन सापकोटामाथि ठगीएका पीडितलाई फोन सम्पर्क तथा विभिन्न सामाजिक संजाल मार्फत धम्क्याउने आरोप लगाए । यस्तै अन्य तीन जनालाई पीडितहरुले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु माथि भएको आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ परेकी कमला सापकोटाले पत्रकार सम्मेलनमा पुगेर पत्रकारलाई धम्काएकी थिइन् । उनले पीडितहरुलाई पनि निरन्तर धम्क्याउँदै आएको आरोप लागेको छ । पीडितहरुले उनीसहित सामाजिक अभियन्ता अर्जुन सापकोटाविरुद्ध पनि वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा उजुरी दिएका थिए ।

बेस्ट ब्रेनले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित अञ्जु कंडेल, सागर भट्टराई र शान्ति कंडेललाई वैदेशिक रोजगारीमा युके पठाउने भन्दै करिब ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको पीडितले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएको थियो ।

प्रकाशित: ३० जेष्ठ २०८२ २१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App