खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वातावरण बचाउन ‘म वातावरणको संरक्षण गर्छु’ अभियान थालेको छ। विश्व वातावरण दिवसको अवसर पारेर बिहीबारदेखि सुरु अभियान लगातार ३ दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ।
बिहीबार नगरप्रमुख तीर्थराज भट्टराईले दिक्तेल हाटडाँडास्थित शक्तिपीठ मझुवाकी सातकन्या भगवती तथा बुद्धेश्वर महादेव गुफा परिसर सरसफाइ गर्दै उद्घाटन गरे। जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम समेत समेटिएको नगरपालिकाले वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्दै स्वच्छ र हरित भविष्य निर्माण गर्ने उद्देश्यले अभियान सुरु गरेको मेयर भट्टराईले बताए।
गुफा परिसरको सरसफाइ र बिरुवा रोपनबाट थालनी भएको अभियानअन्तर्गत बिहीबार साँझसम्म बजार क्षेत्रभरि सरसफाइसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह र हस्ताक्षर संकलन गरियो। अभियान टोलीमा सहभागी बालबालिका, विद्यार्थी, जनप्रतिनिधि, कर्मचारी, महिला र सज्जनहरूले समाजका जिम्मेवार अगुवा सरोकारवालादेखि सर्वसाधारणसम्मलाई वातावरण बचाऊसम्बन्धी चेतना फैलाउन बजारका घरघर र पसल-पसलमा हस्ताक्षर संकलन गरिएको थियो।
सबैले आआफ्नो ठाउँबाट सानै भए पनि वातावरण संरक्षणमा योगदान गर्न यो अभियान सार्थक हुने अपेक्षा मेयर भट्टराईले गरेका छन्। दिनदिनै विश्वभर प्रदूषण बढ्दै, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनलगायतका समस्या बग्रेल्ती बढेको तथा प्राकृतिक स्रोतहरूको निर्मम दोहनले वातावरण संकट बढ्दै गएकाले आजको मुख्य चुनौती वातावरण संरक्षण नै भएको मेयर भट्टराईको बुझाइ छ। स्वच्छ हावा, सफा पानी, उर्बर भूमि र जैविक विविधता नभएमा विश्वमा मानव अस्तित्व समाप्त हुने जोखिम रहेको ठान्ने मेयर भट्टराई वातावरण नै मानव जीवनको मुख्य आधार मान्छन्।
दिक्तेलबाट सुरु अभियानलाई अन्य स्थानीयतहहरूमा पनि विस्तार गर्ने उद्देश्य उनको छ। दिक्तेलबाट अन्य स्थानीयतह हुँदै जिल्लाभरि वातावरण संरक्षणको सन्देश छर्न सरोकारवालाहरूलाई आग्रह गर्दै जिल्लादेखि प्रदेश हुँदै देशभरि वातावरण संरक्षणको अभियान चल्नुपर्ने आवशयक्ता उनी औँल्याउँछन्। वातावरण संरक्षण अभियानमा नागरिकको सहभागिता जति बढाउन सक्यो उत्ति मानव जगत सुरक्षित हुने बुझेका उनी यो संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नु यो पुस्ताको जिम्मेवारी ठान्छन्।
अभियानको पहिलो दिन अभियान टोलीले हाट डाँडादेखि मझुवागढीसम्म सरसफाइ र बिरुवा रोपण गर्दै नगर सरसफाइ चलायो भने दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयबाट ‘म वातावरणको संरक्षण गर्छु’ भन्ने प्रतिबद्धता ब्यानरमा हस्ताक्षर अभियान चलाइयो।
अभियानको दोस्रो दिन शुक्रबार सरस्वती माविाममै वातावरण सम्बन्धी सरोकारवाहरूसँग विद्यार्थीहरूको अन्तरसंवाद तथा विभिन्न विद्यालयहरूले नृत्य तथा गायनका साँकृतिक कार्यक्रम प्रस्तुत गर्ने तालिका छ। जस अनुसार सरस्वती माविले किराती समुदायको साकेला नाच, पञ्च माविले खसआर्यको संगिनी नाच, माउण्ट एभरेष्ट बोर्डिङले नेवारको लाखे नाच, हिलसाइड इङ्ग्लिस बोर्डिङले तामाङ समुदायको सेलो नृत्य र दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलले सडक नाटक प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी अभियानको तेस्रो तथा अन्तिम दिन मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल नजिकै हुर्लुङदेखि रेडपाण्डा–थार पदमार्ग हुँदै रुपाकोट डाँडासम्म पर्यावरणीय यात्रा गर्ने कार्यक्रम तय भएको छ। पर्यावरणीय यात्रामा नगरवासी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक तथा कर्मचारी र अन्य सरोकारवालाहरूको सहभागिता रहने छ।
नगर उपप्रमुख बिसन राईले यो अभियानबाट वातावरणीय चेतनाको अभिवृद्धि हुनुका साथै हरित क्रान्ति, दिगो विकास र बिरुवा रोपण प्रवर्द्धन गर्ने तथा फोहर व्यवस्थापनमा सुधार र जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको बताए। साथै यसले जलवायु परिवर्तनका असर न्यूनिकरणमा महत्वपूण सहयोग पुग्ने, जैविक विविधताको संरक्षण हुनुका साथै युवापुस्ता, बालबालिका र विद्यार्थीमा वातावरणप्रति जिम्मेवार बन्नुपर्छ भन्ने आत्मबोध गराउने आसा लिइएको पनि उपमेयर राईको भनाइ छ।
उपमेयर राईका अनुसार वातावरण संरक्षण गर्ने विषय एउटा व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभएर सम्पूर्ण मानव सभ्यताको साझा दायित्व हो। त्यसैले सबैलाई जिम्मेवार बनाउन ‘म वातावरणको संरक्षण गर्छु’ भन्ने नारा तय गरिएको उनले बताए। सबैको साझा अभियान भएकाले यसलाई सफल बनाउनु सबैको उत्तिकै कर्तव्य हुने नगरपालिकाले ठानेको छ।
खोटाङको सबभन्दा ठूलो स्थानीयतह दिक्तेल रुपाकोट मझुवागढी नगरले गतवर्ष पनि जैविक विविधता तथा पर्यावरण संरक्षण कार्यक्रम सञ्चालन गरेको थियो। गत वर्ष आयोजित अन्तर्राष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा तथा थार महोत्सव, जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमहरू सबै वातावरण बचाऊसम्बन्धी नै रहेको नगरपालिकाले जनाएको छ।
नगरले गरेको राष्ट्रिय बाँस सम्मेलनले बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन र नीति निर्माणका लागि दबाब सिर्जना भएर सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन (कार्यविधि) बनाएर स्वीकृत गरिसकेको छ। सरकारको स्वीकृतिसँगै बाँसजन्य कच्चा पदार्थबाट भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माण गर्ने प्राविधिक विवरण र नमूना डिजाईनका बाँसका घरहरू बनाउने बाटो खुलिसकेको छ।
प्रकाशित: २२ जेष्ठ २०८३ १२:०७ शुक्रबार


-600x400.jpg)


