विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। तर, टोलीका कप्तान लियोनेल मेस्सीसहित केही खेलाडी भने घर फर्कने टोलीमा थिएनन्।
अर्जेन्टिना फुटबल संघ (एएफए) ले केही खेलाडी टोलीसँगै स्वदेश नफर्किएको जनाएको थियो।
स्थानीय टेलिभिजनले प्रसारण गरेका दृश्यहरूमा पनि मेस्सी विमानबाट ओर्लिएको देखिएन। यद्यपि प्रशिक्षक लियोनेल स्कालोनी र टोलीका अन्य सदस्यहरूको भने ब्यूनस आयर्सस्थित एजेजा अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिएको थियो। उनीहरूलाई रातो कार्पेट र सैन्य ब्यान्डसहित सम्मान गरिएको थियो।
चिसो मौसम र वर्षाको पर्वाह नगरी हजारौं समर्थक विमानस्थल नजिकैको एएफए प्रशिक्षण केन्द्र बाहिर टोलीलाई स्वागत गर्न भेला भएका थिए।
अर्जेन्टिनाको झण्डा ओढेका समर्थकहरूले नीलो–सेतो छाता बोकेर आफ्ना खेलाडीप्रति समर्थन र सम्मान व्यक्त गरे।
सन् २०२२ मा विश्वकप जितेपछि लाखौं मानिस सडकमा ओर्लिएर उत्सव मनाएका अर्जेन्टिनालीहरू यसपटक भने हारपछि पनि टोलीको साथमा उभिएका देखिए। धेरै समर्थकले खेलाडीहरूको समर्पण र प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद दिएका थिए।
३६ वर्षीया समर्थक मार्गा लेडेज्माले मेस्सीले अर्जेन्टिनालाई दिएको अविस्मरणीय योगदानको स्मरण गर्दै भने, ‘मेस्सीले हामीलाई धेरै खुसीका क्षण दिएका छन्। उनले राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय नगरून् भन्ने हाम्रो चाहना छ।’
फाइनलमा अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भएको थियो। लगातार दोस्रो विश्वकप जित्ने लक्ष्य पूरा गर्न नसकेको टोलीले खेलका क्रममा गरेको केही फाउल र आक्रामक व्यवहारका कारण आलोचना पनि खेप्नुपरेको छ।
यद्यपि समर्थकहरू भने टोलीको पक्षमा उभिएका छन्। कपडा उद्योगमा कार्यरत ३६ वर्षीय लियोनार्डो ब्यारिएन्टोसले भने, ‘यो टोलीले सम्पूर्ण देशलाई एकताबद्ध गरायो। जित–हार खेलको हिस्सा हो, तर उनीहरूले देशका लागि दिएको योगदान सधैं सम्झिनेछौं। मेस्सीले आफ्नो शतप्रतिशत दिएका छन्।’
२८ वर्षीया मारिया ओर्टिज दुई वर्षीया छोरीसँग टोलीलाई स्वागत गर्न पुगेकी थिइन्। उनका अनुसार स्पेन फाइनल जित्न योग्य टोली थियो तर अर्जेन्टिनाले प्रतियोगिताभर दिएको प्रदर्शनप्रति उनी सन्तुष्ट छिन्।
फाइनलमा हारपछि हजारौं समर्थक ब्यूनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा भेला भएर टोलीप्रति सम्मान व्यक्त गरेका थिए। उनीहरूले आतिशबाजीसहित खेलाडीहरूको योगदानको कदर गरे।
यद्यपि राति अबेर केही स्थानमा झडप भएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रयोग गरी भीडलाई तितरबितर पारेको थियो। प्रहरीका अनुसार घटनामा १५ जना पक्राउ परेका छन्।
प्रकाशित: ५ श्रावण २०८३ १५:०० मंगलबार





