१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ब्रोड पिक हिमपहिरो : बेपत्ता १० मध्ये दुई जनाको शव फेला, पाकिस्तानी सेनाका दुई हेलिकप्टर परिचालन

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी दुई पर्वतारोहीको शव फेला परेको छ। हिमपहिरोमा परेका १० जना पर्वतारोही बेपत्ता भएका छन्।

हाइकिङ एजेन्सी सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंले दुई जनाको शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार अहिले मृतकहरूको पहिचान गर्ने प्रक्रिया भइरहेको छ। हिमपहिरोमा परेर बेपत्ता हुनेहरूमा नेपालका निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ (युक्ता), किली शेर्पा (किलु), निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यसैगरी ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाका मेलोरी गेइस पनि बेपत्ता सूचीमा छन्।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई वटा हेलिकप्टर र थप विशेष उपकरणहरू घटनास्थलतर्फ परिचालन गरिएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ। खोज कार्यलाई प्रभावकारी बनाउन केटु र केथ्री हिमालमा रहेका अन्य पर्वतारोहीहरूलाई समेत परिचालन गरिएको नेपाली सांसद तथा व्यवसायी मिङ्मा ग्याबु शेर्पाले जानकारी दिएका छन्।

काराकोरम हिमशृंखलामा अवस्थित ८ हजार ४७ मिटर उचाइको ब्रोड पिक हिमाल विश्वको १२औं अग्लो हिमाल हो। यसअघि सन् २०१९ मा निर्मल पुर्जाले ६ महिनाभन्दा कम समयमै आरोहण गरेका १४ वटा 'डेथ जोन' हिमालहरूमध्ये यो पनि एक हो।

प्रकाशित: १५ श्रावण २०८३ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App