६ असार २०८२ शुक्रबार
image/svg+xml
अपराध

लागु औषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

भक्तपुरमा अवैध लागु औषध कारोबार र सेवन बढेको छ। जिल्ला प्रहरी परिसरले लागु औषध नियन्त्रण अभियान चलाउँदा २४ घण्टामा आठ कारोबारी पक्राउ परेका छन्।

विभिन्न जिल्लाबाट भक्तपुर आएर बस्नेले कारोबार बढाएको र स्थानीय युवालाई लागु औषध बिक्री गर्दा सेवनकर्ता पनि बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले बताए। उनले प्रहरी वृत्त र परिसरबाट खटिएको टोलीले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाबाट लागु औषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका–५ घर भई मध्यपुरथिमि–६ सिघिकाली डेरामा बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाही, लालबन्दी नगरपालिका–१ घर भई मध्यपुरथिमि सिद्धिकाली बस्ने १८ वर्षीय सागर लामा छन्।

प्रहरीले उनीहरूको कोठामा छापा मार्दा ट्रमेनिल ४५१ थान, निटजिकेयर ११९० थान, निटरभेट ७२ थान, गाँजा प्रजातिको पोल्याण्ड ८४० ग्राम, खैरो हिरोइन ९५० मिलिग्राम, दुई मोबाइल र नगद सात हजार रुपैयाँ बरामद गरेको नेउपानेले बताए।

यसैगरी, मध्यपुरथिमि–९ बोडे बस्ने खोटाङ, ऐँसेलुखर्क गाउँपालिका–८ का २५ वर्षीय स्वदेश राई, काभ्रेपलाञ्चोक, रोशी गाउँपालिकाका २९ वर्षीय छिरिङ लामा, मध्यपुरथिमि–९ बोडेका २५ वर्षीय अमीर बस्नेत, मध्यपुरथिमि–७ धुञ्चेपाखाका २१ वर्षीय नेस्नल भनिने सम्राट राई र सिन्धुपाल्चोक, लिशङ्खुपाखर गाउँपालिका–३ घर भई काठमाडौँ, कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामा पनि पक्राउ परेका छन्।

उनीहरूलाई स्वदेश राईको कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० थान, स्टेगा १७३ थान, पोल्याण्ड ४६६ थान, नगद पाँच हजार रुपैयाँ र तीन मोबाइल बरामद भएको नेउपानेले बताए। प्रहरीले उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध कसुरमा अनुसन्धान र कारबाही अघि बढाएको छ।

यस्तै, सूर्यविनायक नगरपालिका–२ बालकोटमा नुवाकोट, ककनी गाउँपालिका–२ ओखरपौवाका ३७ वर्षीय हरिनाथ कोइरालालाई उनकै डेराबाट १ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको नेउपानेले बताए। लागु औषध कसुरमा म्याद थपेर अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: २ जेष्ठ २०८२ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App