हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ परेकी छन्। मानव बेचविखनको आरोपमा कैलाली प्रहरीको नियन्त्रणमा रहेकी ५० वर्षीया मिना शाही दमाइ भारतको पलियामा लुकेको अवस्थामा पक्राउ परेकी हुन्।
मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याएका बेला आइतबार दिउँसो प्रहरीको आँखा छलेर उनी भागेकी थिइन्। पहिलोपटक थपिएको १० दिनको समय आइतबार सकिएपछि दोस्रो पटक म्याद थपका लागि उनीलाई सरकारी वकिल कार्यालय लगिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टका अनुसार शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचविखन मुद्दा चलाएको छ। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचविखन गरेको अभियोग छ।
सरकारी वकिलको कार्यालयबाट शाही हतकडीसहित फरार भएपछि प्रहरी सहायक हवल्दार चक्रप्रसाद अधिकारी र प्रहरी जवान लोकराज जोशी कारबाहीमा परेका छन्। अभियुक्तलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने अधिकारी र जोशीलाई निलम्बन गरिएको छ। उनीहरू दुवै इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत छन्।
प्रकाशित: १५ वैशाख २०८२ १३:०६ सोमबार





