सिम्रौनगढ क्षेत्रबाट भारत हुँदै खाद्यान्न तथा कपडाजस्ता भन्सार छलीका सामग्रीहरूको तस्करीमा संलग्न रहेको अभियोगमा बाराका भोला साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत फागुन २४ गते भन्सार छलीका सामान नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि आक्रमण गराएको अभियोगमा साहमाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भारतबाट पाँचदेखि सात वटा मोटरसाइकलमा भन्सार छलीका कपडाहरू ल्याउँदै गरिएको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको नेतृत्वमा गएको टोलीलाई सिम्रौनगढ नगरपालिका–२ अमरपुर नाकामा साहको समूहले अवरोध गर्दै आक्रमण प्रयास गरेका थिए।
तस्कर समूहसँगको झडपका क्रममा केही मोटरसाइकल र कपडा नियन्त्रणमा लिन प्रहरी सफल भए पनि बाँकी सामान तस्करहरू भगाएर लगेका थिए। प्रहरीले घटनास्थलबाट दुई वटा मोटरसाइकलसहित केही भन्सार छलीका कपडा भने बरामद गरेको थियो।
प्रहरी प्रवक्ता डिएसपी विजय पण्डितका अनुसार, साहले घटनापछि प्रहरीमाथि उल्टै २५ हजार रुपैयाँ मागेको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास गरेका थिए। तर प्रारम्भिक अनुसन्धानपछि साह स्वयं नै मुख्य योजनाकार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साह यसअघि पनि विभिन्न तस्करी घटनामा संलग्न रहँदै आएका थिए। स्रोतका अनुसार, उनले सिम्रौनगढ क्षेत्रमा कांग्रेस निकट नेताहरुको संरक्षणमा तस्करीको सञ्जाल सञ्चालन गर्दै आइरहेका छन्।
उनले यसअघि पनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरूलाई आक्रमण गरेर घाइते बनाएको घटना सार्वजनिक भइसकेका छन्।
साहविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिए पनि लामो समयदेखि फरार रहेका उनलाई सोमबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ वैशाख २०८२ १९:२४ मंगलबार




