जबरजस्ति करणी, चोरी र ज्यान मार्ने उद्योगमा कैद र जरिवाना ठहर भएका फरार व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन घर भई हाल झापाको दमक बस्ने उत्तरे भनिने ४४ वर्ष तेजकुमार लिम्बू रहेका छन् । उनलाई खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सिँवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सावादिनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी कारागार चलान भएका छन् ।
पक्राउ परेका उनलाई कैद र जरीवाना असुल उपरका लागि ताप्लेजुङ जिल्ला अदालतमा पेश हुँदा बाँकी कैद र जरीवाना भुक्तानका लागि कारागार चलान गर्न अदालतले दिएको आदेश अनुसार कारागार चलान गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका तेजकुमारलाई जबरजस्ति करणी उद्योग र चोरी मुद्दामा २०७६ साल जेठ २८ गते ताप्लेजुङ जिल्ला अदालतले दोषी ठहर गर्दै ६ वर्ष ६ महिना कैद र २ लाख २० हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो ।
उनी माथि ज्यान मार्ने उद्योगको समेत मुद्दा थियो । अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाई गर्दै २०७६ साल जेठ २८ गते मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
उनी माथि २०७० साल माघ ७ गते धारिलो हतियार खुकुरी बोकेर ताप्लेजुङ जिल्लास्थित तत्काल ३६ वर्षीया एक महिलाको घरमा गएर खुकुरी देखाई अलैंची बिक्री गरी राखेको १ लाख रुपैयाँ चोरी गरेको, पीडितलाई मार्ने सम्मको धम्की दिई जबरजस्ति करणी उद्योग गरेको र पीडित आत्तिएर कराएपछि उनका देवरले सुनेको र निज देवर तत्काल घटनास्थलमा उपस्थित हुँदा निजलाई समेत मार्ने उद्देश्यले खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग थियो । त्यही बेलादेखि उनी फरार रहेको प्रहरीले बताएको छ ।
प्रतिवादीले भुक्तान गर्न बाँकी रहेको १७ वर्ष ९ महिना ४ दिन कैद र ११ लाख ५३ हजार ५ सय ५८ रुपैयाँ ३४ पैसा असुल उपरका लागि ताप्लेजुङ जिल्ला अदालतमा पेश गरिएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा २१ जना फरार प्रतिवादी पक्राउ गरिसकेको समेत जानकारी दिएको छ ।
प्रकाशित: ७ वैशाख २०८२ १५:४९ आइतबार





