राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित भएको भन्ने भ्रमक सूचनाविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । शिक्षकहरुको आन्दोलन जारी रहेका समय वैशाख ११ गतेदेखि तय कक्षा १२ को परीक्षा स्थगित भएको सूचना बाहिरिएको थियो ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले नागरिकन्युजसँग कुरा गर्दै बोर्डको लेटरहेड प्रयोग गरेर जारी सूचना झुटो भएको र यसले विद्यार्थीहरुमा अन्योल सृजना गरेको बताए । गलत सूचनाको पछि नलाग्न विद्यार्थीहरुमा उनको आग्रह थियो ।
अध्यक्ष डा.शर्माले आफ्नो हस्ताक्षर स्क्यान गरेर सूचनामा राखिएको र बोर्डको लेटरहेड समेत प्रयोग गरिएकाले यसविरुद्ध कानुनी उपचार खोज्ने बताए । उनले भने, 'मेरो हस्ताक्षर स्क्यान गरिएको छ । बोर्डको लेटरहेड प्रयोग गरिएको छ । यो अपराध हो । हामी यसविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गर्छौ र जस्ते यस्तो कार्य गरेको छ सजाय दिलाउँछौं ।'
अध्यक्ष डा. शर्माले बोर्डका परीक्षा नियन्त्रकबाट बिहीबार जारी भएको सूचनालाई आधिकारिक मानेर परीक्षाको तयारीमा लाग्न विद्यार्थीहरुमा आग्रह पनि गरे ।
यो पनि पढ्नुहोस्
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
प्रकाशित: ५ वैशाख २०८२ १५:३३ शुक्रबार





