१० पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

जोगीको भेषमा खुलेआम लागू औषध ओसारपसार

एआईको सहयोमा बनाइएको सांकेतिक तस्बिर।

नेपालगन्ज–जमुनाह सडक खण्डको ट्राफिक चोकदेखि उत्तरतर्फ चिया पसलमा ठूलो जमघट। त्यसमा अर्धवैश्य पुरुष र जोगीहरु। टहराभित्र केहीले प्रतिबन्धित लागु औषध सेवन गरिरहेका छन् भने अरु बाँकी बाहिरै।

शङ्कास्पद व्यक्ति आएको चाल पाए सूचना दिने काम बाहिर बसेकाको। बुधबार नागरिककर्मीले यही दृश्यको भिडियो कैद गर्दा दिउँसोको झण्डै ३ बजेको थियो।

भिडियो कैद गरी नेपालगन्ज फर्किँदै गर्दा एक जना जोगी र अर्का एक व्यक्तिले नागरिककर्मीको स्कुटर पिछा गरे र रोके।

अनि भने, ‘तपाईंले त्यो भिडियो किन खिचेको ? को हो तपाईं ?’ म पत्रकार हो, त्यहाँ लागू औषध सेवन भइरहेकाले भिडियो खिचेको भन्ने जवाफमा जोगीले भने, ‘म त जोगी, खान्छु। खानुनै पर्‍यो। कसैले रोक्ने छेक्ने भएन। तर, अरु किन आउँछन् ! उनीहरुलाई समात्न लगाउनु पर्‍यो।’ त्यसपछि उनीहरु फर्किए।

यति मात्र होइन, पछिल्लो समय बाँकेमा लागु औषध कारोबार फस्टाउँदै गएको छ। यसमा जोगीका भेषमा कारोबारी भारतीय बजार रुपैडियाबाट खुलेआम नेपालगन्ज भित्रिन्छ। उनीहरुलाई कसैको रोकटोक छैन।

धर्मको नाममा उनीहरुले कालो व्यापार गरिरहेका छन्। सीमा क्षेत्रमै नेपाल प्रहरीको लागु औषध ब्युरो पनि छ। प्रहरी सहायक निरीक्षक (असइ) को नेतृत्वमा नौ जना प्रहरी छन्। उनीहरूको काम भनेको सीमा क्षेत्रबाट भित्रिने लागू औषध नियन्त्रण गर्नु हो। तर, उनीहरूको प्रभावकारी भूमिका नहुँदा जमुनाहबाट निर्धक्क लागु औषध भित्रिने गरेको छ।

दैनिक रुपमा जोगीको भेष धारण गरेका व्यक्ति रुपैडिया जान्छन् र भित्र्याउँछन्। अनि नेपालगन्ज भित्रिएको लागू औषध उनीहरुले सेवनकर्तासम्म पुर्‍याउँछन्। पछिल्लो समय लागू औषध भित्र्याउन कारोबारीले नयाँ उपाय लगाएका छन्।

यो उपायबारे लागू औषध ब्युरो पूरै बेखबर छ। प्रहरी सहायक निरीक्षक नवीन्कुमार शाही भन्छन्, ‘लागू औषध ओसारपसारमा उनीहरुले बेलाबेला नयाँ रणनीति अपनाउँछन्। यो विषयमा हामीलाई थाहा थिएन। अब यस्ता व्यक्ति (जोगीको भेषमा) आएकालाई पनि निगरानीमा राख्छौं।’

प्रहरीले उनीहरूको रणनीति थाहा पाएपछि पुनः लागू औषध ओसारपसार गर्ने गिरोहले नयाँ उपाय लगाउँछन्। जिल्लामा जनशक्ति अभावसँगै यससम्बन्धी प्रहरी प्रविधिसहितको नहुँदा पनि यसको न्यूनीकरण गर्न ठूलो समस्या भएको छ।

आवश्यकभन्दा कम जनशक्ति हुँदा पनि जिल्लामा लागू औषध नियन्त्रणका लागि उल्लेख्य काम भएको असइ शाहीको दाबी छ।

जोगीहरूलाई प्रहरीले खासै निगरानी गर्दैनन्। जसको फाइदा उनीहरुले सहजै उठाइरहेका छन्। दैनिक चार/पाँच पटक एउटै जोगी वारिपारि (नेपालगन्ज–रुपैडिया) ओहोरदोहोर गरिरहेको देख्दादेख्दै पनि उनीहरुलाई शङ्कास्पद नदेख्नु कमजोरी भएको नागरिकहरू बताउँछन्।

कतिपय जोगीहरूले आफू बस्ने कुटीमै कारोबार गर्ने गरेको बेलाबखत आरोप लागिरहेको छ। ‘बाबाहरूले प्रतिबन्धित लागू औषध ल्याउँछन् र कुटीमा बिक्री वितरण गर्छन्,’ एक जना नेपालगन्जका युवकले भने, ‘त्यस्ता कुटीमा युवायुवतीको भिडभाड हुन्छ। कुटीमा कसैले शंका गर्दैनन्। उनीहरुले सेवन गर्न पनि सजिलो हुन्छ।’

प्रकाशित: ४ वैशाख २०८२ १८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App