ललितपुरको एक घरको पानी ट्याङ्कीमा शव सडेको अवस्थामा फेला परेकी बझाङकी बालिकाको हत्या उनकै १५ वर्षीय दाजुबाट भएको खुलेको छ। हत्याको कारण लागु औषधको दुर्व्यसनी रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।
बझाङको सुर्मा गाउँपालिका–४ की ११ वर्षीया बालिका दुर्गा बोहराको शव चैत २९ गते ललितपुर महानगरपालिका–९ खपिन्छेँ स्थित बाबुराजा अवालेको घरको पानी ट्याङ्कीमा सडे गलेको अवस्थामा भेटिएको थियो। त्यसको झन्डै २५ दिनअघि चैत ४ गतेबाट हराइरहेको भन्दै चैत ६ गते दुर्गाकी आमा भगवती बोहराले छोरी हराएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन।
यसरी भेटियो शव, सिसिटिभीबाट हत्यारा पहिचान
घटना भएको घर पुरानो छ। प्रहरीकाअनुसार जहाँ फागुन २८ गतेसम्म मृतक दुर्गाको परिवार बस्दै आएको थियो। त्यसपछि त्यहाँबाट सरेको थियो। उनीहरू सरे लगत्तै चैत २ गते त्यहीँ घरमा बस्दै आएकी चमेली सुनारको परिवार पनि सरेको प्रहरीले जनाएको छ। त्यसपछि भने त्यो घर खाली बनेको थियो।
जुन घरमा चैत १६ गते मकवानपुरका सञ्जय बोगटी बस्न आएका थिए। जहाँ सिमेन्टले बनेको ट्याङ्की प्रयोगविहीन अवस्थामा थियो। ट्याङ्कीबाट कीरा र दुर्गन्ध आउने गर्थ्यो।
चैत २९ गते पानीको समस्या नहोस् भन्ने उद्देश्यले सञ्जयले त्यो ट्याङ्की सफा गर्न खोजे । सोही क्रममा ट्यांकीको ढक्कन खोल्दा दुर्गाको शव भेटिएको प्रहरीसमक्ष जानकारी दिएका छन्।
शव भेटिएपछि सञ्जयले घरधनी अवालेलाई खबर गरेका थिए। त्यसपछि ललितपुर प्रहरीको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान थालेका थिए।
प्रहरीले घर नजिकै रहेको सिसिटिभी क्यामराको फुटेज जाँच गर्दा चैत ४ गते साँझ दुर्गा र उनका १५ वर्षीय कान्छो दाइ सँगै त्यो घरमा गइरहेको भेटेको थियो। दुर्गासँग अन्तिम पटक उनै देखिएकाले उनैबाट हत्या भएको हुनसक्ने निष्कर्षमा प्रहरी पुग्यो।
सोहीअनुसार वैशाख १ गते(सोमबार) मंगलबजारबाट पक्राउ गर्यो। पक्राउपछि उनले बहिनीको हत्या आफैले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
लागु औषध र मैनबत्ती झगडा
प्रहरी अनुसन्धानमा दाजु बहिनी दुवै लागु औषध दुर्व्यसनी रहेको पाइएको छ। त्यो दिन(चैत ४ गते) साँझ दुवै जना पुरानो डेरा(घटना भएको घर)मा कोठा सार्दा छुटेका कपडा ल्याउन भनी त्यहाँ गएका थिए।
त्यहाँ पुगेपछि दुवै जनाले लागु औषध सेवन गरेको भनेर बालकले बयान दिएका छन्। उनले प्रहरीलाई दिएको बयान अनुसार त्यसपछि त्यहाँ उज्यालोका लागि जलाएको मैनबत्तीका लागि दुवैबिचमा झगडा हुन पुग्यो।
सोही क्रममा आफूले बहिनीलाई पिटेर पछाडिबाट डोरीले घाटी कसेर भुईँमा लडाइ भागेको उनले बयान दिएका छन्। उनले दाजु बहिनी दुवैले नशा सेवन गरेकै कारण घटना हुन पुगेको बताएका छन्।
त्यसपछि दोस्रो दिन(चैत ५) गते घटना सम्झेर उनी त्यो घर पुगेका थिए। जहाँ मृत्यु भएको अवस्थामा भर्याङ छेउमा बहिनीको लास देखे। त्यसपछि उनले दुर्गाको लासलाई ट्याङ्कीमा हालेर सिमेन्टले बनेको ढक्कनले छोपी हिँडेका थिए।
यसरी घटना भएको २५ दिनपछि दुर्गाको लास सडे गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको विवरण खुलेपछि जिल्ला प्रहरी परिसर, ललितपुरले दुर्गाका दाजुमाथि न्यायिक कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ।
प्रकाशित: २ वैशाख २०८२ १७:३६ मंगलबार