लागु औषध मुद्दामा पक्राउ परेका छोराको अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्न घरमा खानतलासी गर्दा कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा बुवा नै अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पिपराको टोलीले लागु औषध मुद्दामा पक्राउ परेको छोरा प्रकाश थारु सम्बन्धमा थप प्रमाण संकलन गर्न घरको खानातलासी लिँदा बुवा ५८ वर्षीय गंगराम थारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। गंगराम सुत्ने कोठामा लुकाइराखेको अवस्थामा एक थान अवैध भरुवा बन्दुक फेला पारेको प्रहरी नायब निरीक्षक मणिमोहन अधिकारीले बताए।
गंगारामका २५ वर्षीय छोरा प्रकाश थारुलाई चैत १७ गते सीमा क्षेत्रबाट लागु औषध (ब्राउन सुगर) सहित पक्राउ गरिएको थियो। इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–३ बरगदवामा लु ९ प २७७१ नम्बरको मोटरसाइकल जाँच गर्दा ट्याङ्कीभित्र लुकाइएको ४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।
सोही लागु औषध मुद्दाको अनुसन्धानका क्रममा थप प्रमाण जुट्न सक्ने आशंकामा प्रहरीले प्रकाशको घरमा खानतलासी गर्ने अनुमति लिएको थियो। खानतलासीकै क्रममा बाबु गंगारामको कोठाबाट अवैध बन्दुक बरामद भएको अधिकारीले बताए।
प्रकाशित: ३० चैत्र २०८१ १२:२८ शनिबार





