पोखरा महानगरपालिकाका उजुरी फर्छ्यौट शाखाका अधिकृत कपिल गिरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बिहीबार दिउँसो घुस बापतको नगद २५ हजारसहित पोखरा–९ न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो ।
नगदसहित रंगेहात पक्राउ परेका गिरी पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत थिए । स्याङ्जाको पुतलीबजार नगरपालिकामा कार्य क्षेत्र रही केहि समयअघि मात्र पोखरा महानगरपालिकामा काज सरुवा भई आएका उनी अख्तियारमा परेको उजुरीबारे प्रश्न सोधेमा महानगरपालिकाका तर्फबाट उनले नै जवाफ लेखेर पठाउने गर्थे ।
आरोपित गिरीले विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी परेको भन्दै सो उजुरी मिलाउन मोटो रकम चाहिने भन्दै सर्वसाधारणलाई माग्ने गरेका थिए । उनले विहीबारपनि निर्माण सम्पन्न बाटोको विषयमा अख्तियारमा उजुरी परेको भन्दै सो उजुरी मिलाउन एक लाख रुपैयाँ चाहिने भन्दै एक सेवाग्राहीलाई मागेका थिए ।
तर सेवाग्राहीले रकम घटाउन आग्रह गरेपछि २५ हजारमा सहमति भएको बताइएको छ । सहमति भएअनुसार पैसा लिन कार्यालय अगाडि पुगेका गिरीलाई सेवाग्राहीले रकम दिने वित्तिकै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
सुरुमा एक लाख रुपैयाँ मागेको भनेर उजुरी परेपनि पक्राउ गर्दा २५ हजार मात्रै भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले जानकारी दिए ।
गिरी पहिल्यैदेखि घुसको मामलामा विवादित पुष्ठभूमि भएका व्यक्ति रहेको महानगरपालिकाका कर्मचारीहरु नै बताउँछन् । स्याङ्जाको पुतलीबजारमा रहँदा घुसकै कारण बदनाम भएका उनी पोखरा आएपछिपनि पोखरा–१७ को वडा सचिव हुँदासमेत विवादमा आएका थिए ।
प्रकाशित: ७ चैत्र २०८१ १९:५९ बिहीबार