राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा भइरहेको थुनछेक बहस लम्बिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबारबाट सुरु भएको बहस कम्तीमा बुधवार सम्मका लागि लम्बिएको हो ।
सोमबार पहिले वादी पक्षबाट सरकारी वकिल र जाहेरवाला तर्फका कानुन व्यवसायीले मात्र बहस गरेका छन् । सरकारी वकिलका तर्फबाट चन्द्रप्रसाद सन्जेल, खडिन्द्रराज पन्त, राधिका सुवाल, सन्तोषराज कटुवाललगायतले बहस गरेका छन् ।
त्यसपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन् ।
यता थुनछेक बहस सोमबारै सकाउन हतार गरिरहेका रविको पक्षमा बहस गर्न तयार रहेका पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र सुशील पन्तको भने समय नै आएको छैन ।
उनीहरूले सुरुदेखि नै थुनछेक बहस चाँडो सकाउन दबाब दिँदै आएका थिए । आइतबार रवि अदालतमा उपस्थित हुँदा पनि उनको पक्षका वकिलहरूले रातारात भए पनि बहस सुरु गर्नुपर्ने प्रस्ताव राखेका थिए। बहसका लागि सरकारी पक्षका वकिल तयार नभएपछि सोमबार मात्रै सुरु भएको हो ।
यता सोमबार पनि चाँडै बहस सकाउने रवि पक्षका वकिलको दबाब थियो। सोहीअनुसार दुई जना मात्रै बहस गर्ने सेड्युल तय गरेका थिए ।
यता न्यायाधीश अधिकारीले पनि सरकारी वकिल पक्षलाई २ घण्टा र रवि पक्षका वकिललाई सवा एक घण्टा बहसको समय तोकेका थिए । जाहेरवाला पक्षका वकिललाई भने कुनै समय तोकिएको थिएन ।
बहस चलिरहँदा न्यायाधीश अधिकारीले समयबारे जानकारी गराउन खोज्दा जाहेरवाला पक्षका वकिल वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले हजारौँ बचतकर्ताको सवाल भएकाले हतार नगर्न आग्रह गरेका थिए ।
‘यो हजारौँ पीडित बचतकर्ताको रकम सङ्गठित र योजनाबद्ध तरिकाले गरिएको गम्भीर ठगीजस्तो मुद्दाको विषय हो,’ उनले भनेका थिए,‘यस्ता गम्भीर मुद्दामा समय सीमा तोकेर हतार गराउन हुन्न ।’
यस्तै उनले यो मुद्दाको प्रक्रियामै समस्या देखिएको पनि बताएका थिए । मूलतः कास्कीमा रविलाई हिरासतमुक्त गरेको विषयमा उनको प्रश्न थियो ।
‘उताको आदेशपछि प्रहरीले पक्रेर काठमाडौं बुझाउनुपथ्र्यों। यसमा गडबडी गरिएको छ,’ वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘पक्राउ पुर्जी जारी नभएका व्यक्तिलाई आफै उपस्थित हुने छुट अहिलेसम्मको अभ्यास नै होइन । यहाँ गलत भएको छ।’
यता रवि पक्षका वकिलले भने आइतबारको जस्तो फेरी हिरासतमा पठाउने आदेश नगर्न आग्रह गरेका थिए । तर, उनलाई हिरासतमा पठाइएको छ ।
सोमबार बहस नसकिएपछि मङ्गलवार सार्वजनिक बिदा भएकाले यो बहस अब बुधवार सम्म हेर्दाहेर्दैमा परेको छ ।
प्रकाशित: २९ पुस २०८१ १६:५१ सोमबार