नेकपा एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मोरङ जिल्ला अदालतले पुर्जी जारी गरेको छ ।
अनिलविरुद्ध ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा अनुसन्धानका लागि सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।
उनीविरुद्ध बौआलाल चौधरीकी छोरीलाई एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनिलले ठगी गरेको घटना सार्वजनिक भएपछि सभापति पोखरेले उनलाई स्वकीय सचिवबाट गत शुक्रबार नै हटाएको संसद सचिवालयलाई लिखित जानकारी दिएका छन् ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका ५७ वर्षीय बौआलाल चौधरीसँग उनकी छोरीको नाम एमबिबिएसमा निकाल्ने भन्दै अलग अलग मिति ३८ लाख ८० हजार रुपैयाँ लिएको चौधरीले अनिलविरुद्ध आरोप लगाएका छन् ।
रुपैयाँ दिएअनुसार काम गर्न नसकेपछि चौधरीले पोखरेलसँग विभिन्न समयमा पैसा फिर्ता माग्दा नदिएपछि कानुनी उपचारमा जानु परेको बताइएको छ । २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए ।
तर, त्यो कागज उनले दर्ता गरेनन् । जबरजस्ती २०७४ असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनि कपाली तमसुक बनाएपछि बौआलाल प्रहरी कार्यालय पुगेका हुन् । यसरी जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसुरमा कारबाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गए पनि प्रहरीले सहज रुपमा जाहेरी लिन नमानेपछि चौधरीले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराउनु परेको थियो ।
प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि २०७९ साउन १८ गते हुलाकबाट जाहेरी पठाए पनि प्रहरीले सुनुवाइ गरेको थिएन । प्रहरीले सुनुवाइ नगरेपछि २०७९ साउन ३१ गते ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए ।
गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दर्ता गरी कारबाहीको गर्न आदेश दिएको थियो । पुस ११ गते आदेश प्रमाणीकरण भएपछि अदालतको आदेशको पत्र आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेल मोरङ क्षेत्र नम्बर २ का सांसद हुन् ।
प्रकाशित: २२ पुस २०८१ १७:३९ सोमबार