२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
भिडियो

रेल सञ्चालनमा आएपछि रामजानकीमा भक्तजनको भीड

प्राचीन मिथिलाको राजधानी तथा मधेस प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्यका दृष्टिले पनि उतिकै वैभवपूर्ण छ। राजर्षि जनकको राजधानी, रामचन्द्रको ससुराली र आदर्श नारी सीताको जन्मभूमि जनकपुरधाम हिन्दू धर्माबलम्बीको विशेष आस्थाको केन्द्र हो।

मधेस प्रदेश सरकारले तयार पारेको घुम्नैपर्ने प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलको सूचीमा पहिलो नम्बरमा जानकी मन्दिर छ। सरकारले जानकी मन्दिरलाई यो प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गरेको छ। जानकी मन्दिर विश्वभरका हिन्दुहरूको आस्था केन्द्र हो। यो मन्दिर प्रदेशकै बढी पर्यटक आउने ठाउँ हो।

सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ।  शुरकिशोर दास माता जानकीको अनन्य भक्त थिए। १४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ।

१७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा दान दिएको लिखत छ। पछि निसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले माता जानकी समक्ष पुत्र प्राप्तीको ईच्छा व्यक्त गरिन्। उनलाई पुत्र प्राप्ति भएपछि विशाल मन्दिरको निर्माण गरेको बताइन्छ। त्यो समयमा ९ लाख असर्फी खर्चेर मन्दिरको निर्माण गरिएको जानकी मन्दिरलाई नौ लखा मन्दिर समेत भन्ने गरिन्छ।

मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ। दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन। गर्भगृह पछाडि सांस्कृतिक संग्रहालय छ। त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएसम्मको झझल्को दिलाउँछ। जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ।

मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेका छन्। जानकी मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ। मन्दिर परिसरमा रहेका ६० वटा कोठाहरु छन्। मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजूर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार भएको जानकी मन्दिरलाई बेला बेलामा विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि आवाज उठ्दै आएको छ।

कोरोना कहरले रोकिएको पर्यटक अहिले जानकी मन्दिर दर्शनका लागि उर्लिएका छन्। भारतदेखि नेपालका विभिन्न स्थानबाट दर्शन गर्न आउने श्रद्धालुको भीडले जानकी मन्दिर भरिभराउ हुन्छ। कोरोनाको रफ्तार घटेपछि पर्यटक बढ्न थालेको महन्थ रामरोशन दाश वैष्णवले बताए। रेल सेवाको सुरुवातले पनि श्रद्धालुको संख्या बढ्नमा मद्त पुगेको उनी बताउँछन्।

जनकपुर–जयनगर रेल सेवा सुरु भएपछि भारतीय पर्यटकको संख्या बढेको यात्री कुञ्ज अतिथि सदनका संचालक अमरनाथ गुप्ता बताउँछन्। अहिले नेपालमा पर्यटक रोकिने समय १२.५ दिन छ। तर मधेस प्रदेशमा २.५ दिन मात्र छ। नेपालमा पर्यटकले प्रतिदिन गर्ने खर्च ४५ डलर छ। मधेस प्रदेशमा ११ डलर मात्र छ। यस प्रदेशमा श्रद्धालु, दर्शनार्थीको भीडलाई पर्यटकमा रूपान्तरण गर्ने रणनीतिमा प्रदेश सरकारको तदारुक्ता देखिदैन। त्यसो गर्न सके धार्मिक पर्यटनबाट मधेस प्रदेश सरकारले मनग्य आम्दानी बटुल्न सक्छ। र, मधेस प्रदेश धार्मिक पर्यटकले गुल्जार बन्नेछ।

प्रकाशित: १४ श्रावण २०७९ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App