coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

महामारीको मारमा विद्यार्थी कि शिक्षक?

अभिभावक नियमित शुल्क बुझाउँछन्, शिक्षक तलब पाउँदैनन्

विगत दुई वर्षदेखि कोभिड १९ को संक्रमणका कारण सम्पूर्ण क्षेत्रमा यसको नकारात्मक असर परेको छ। समय समयमा आउने यसका विभिन्न लहरका कारण सामान्य जनजीवन उन्मुख मानवीय जनजीविका प्रभावित भइरहेको छ।

पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम उच्च छ। नेपालमा पनि केही सातादेखि कोरोना संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ। यसको जोखिम नियन्त्रणका लागि सरकारले भिडभाड हुने क्षेत्रसहित शिक्षण संस्थाहरु माघ १५ गतेसम्म बन्द गरेको छ।

दैनिकरुपमा संक्रमणको दरमा उच्च भएकै कारण माघ १५ गतेपछि बन्दाबन्दी हुने संकेत देखिएको छ। विगतकै जस्तो बन्दाबन्दी भयो भने कसरी जीविकोपार्जन चलाउने भन्ने पीरले अहिले हरेक व्यक्तिलाई सताउन थालेको छ।  

पहिलो लकडाउनले सबैभन्दा धेरै असर विद्यार्थी, विद्यालय, शिक्षक र अभिभावकलाई परेको सब्रमा बितितै छ। विद्यार्थीलाई भविष्यको चिन्ता भइरहँदा शिक्षकलाई वर्तमानको घरव्यवहारको समस्या पर्‍यो। अझ महामारीमा सबैभन्दा बढी पीडामा पर्‍यो शिक्षण संस्था। त्यसमध्ये पनि निजी विद्यालयका शिक्षक।

कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न नेपाल सरकारले पहिलो पटक २०७६ चैत ११ गतेदेखि गरेको बन्दाबन्दीको समयमा निजी विद्यालयका शिक्षकको पीडा समाचारका हेडलाइन बने। ती समाचारका हेडलाइनहरुले धेरैको मन छोयो। सबै हेडलाइनहरुमा रोगभन्दा भोकको डर भन्ने वाक्यले त्रास नै पैदा गर्‍यो। निजी विद्यालयका केयौं शिक्षकहरु तलब नआउँदा कसरी बाँच्ने भन्ने तनावमा थिए। त्यसमा पनि निजी विद्यालयले पठनपाठन बन्द भएको कारण देखाएर धेरै शिक्षकहरुलाई जागिरबाट निकाल्यो। जसबाट धेरै शिक्षकहरुको रोजीरोटी नै खोसियो। रोजगारविहीन भएका निजी विद्यालयका शिक्षकहरुलाई बिहानबेलुका हातमुख जोड्न नै धौधौ भएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) की सचिव सरिता निरौलालले सुनाइन्।

विगतको महामारी र बन्दाबन्दीको अनुभवलाई हेर्ने हो भने जति मारमा निजी विद्यालयका शिक्षक परे उति नै अफ्ठ्यारोको सामना गर्नु पर्‍यो सरकारी विद्यालयका विद्यार्थीहरुले। दोस्रो दर्जाको रूपमा हेरिएका सरकारी विद्यालयलाई पनि महामारीले झनै समस्याग्रस्त बनायो। भौतिक रुपमा पढ्न नपाएपछि अनलाइन माध्यमको सहारा लिएर पढ्दा सरकारी विद्यालयका विद्यार्थीहरुले विभिन्न समस्याको सामना गर्नु पर्‍यो। प्रमिला दाहाल, जो हाल ज्ञानोदय माध्यमिक विद्यालय बाफलमा कक्षा ११ मा पढ्छिन्। उनले आफूले अनलाइन माध्यमबाट पढ्दा प्राविधिक गडबढीसहित धेरै समस्याको सामना गर्नु परेको बताइन्।

महामारीको पहिलो लहरमा स्कुल बन्द रहेका बखत निजी विद्यालयहरूले अनलाइनबाट पठनपाठन सुचारु राखे पनि अधिकांश सरकारी विद्यालयले त्यसो गर्न सकेनन्। यसबाट सरकारी विद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको भविष्यमा प्रश्नचिह्न खडा भयो। सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको स्मार्टफोन तथा ल्यापटप एवं इन्टरनेटमा पहुँच नहुँदा उनीहरू पढाइको अवसरबाट वञ्चित हुन पुगे। अनलाइन पढाइ नहुनु वा भए पनि प्रभावित हुनुको वास्तविकताभित्र थुप्रै कहानी छन्। त्यसमध्ये पनि ज्ञानोदय मावि कै अर्की छात्रा रसिका खतिवडाले अनलाइन माध्यमले आफ्नो पढाइको स्तर खस्किएको बताउँछिन्।

कोरोनाको दोस्रो लहरले सरकारी स्कुलका विद्यार्थीको भविष्यलाई थप अन्योलग्रस्त बनाएको छ।

लकडाउनको समयमा अभिभावकबाट शुल्क लिए पनि शिक्षकलाई तलब भने नदिएको आरोप निजी विद्यालयलाई लाग्यो। तर यो कुरालाई खण्डन गर्छन्, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा।

नेपालमा बन्दाबन्दी हुनुपूर्व विद्यालयहरुले भौतिक उपस्थितीबाटै पठनपाठन गराउँदै आएका थिए। भूगौलिक विविधता भएको नेपालमा भर्चुअल तथा अनलाइन कक्षाको सम्भव कमै थियो। तर एक्कासी उत्पन्न भएको विश्व महामारीका कारण भौतिक कक्षा स्थगित भयो भने अलाइनबाट पठनपाठन गर्न बाध्यता सिर्जना भयो। जसरी भौतिक उपस्थितीमा विद्यार्थीहरुको सिकाइ उपलब्धि राम्रो थियो त्यति नै अनलाइन माध्यमबाट भएको पठनपाठनले सिकाइ उपलब्धिमा कमी ल्याएको अध्यक्ष सापकोटा बताउँछन्।

कोरोना संक्रमणका समयमा विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प थिए । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेको आरोप अभिभावकहरुले लगाएका थिए। शहर बजारका निजी विद्यालयहरुले अभिभावकलाई भर्ना शुल्क, मासिक शुल्क, स्टेसनरी शुल्क तथा खर्चै नभएका शीर्षकसमेत समेटेर शुल्क तिर्न बाध्य पारिरहेको भन्दै अभिभावकको गुनासो छ। महामारीका समय निजी विद्यालयहरुले अभिभावकलाई सहयोग नगरेको अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताए।

विगत जस्तै अहिले पनि महामारीको जोखिम बढ्दै गएको छ। दिनानुदिन बढेको संक्रमणको दरले फेरि पहिले जस्तै बन्दाबन्दी तथा लकडाउन नहोला भन्न सकिन्न। यस्तो समयमा अभिभावकहरुले शिक्षक र विद्यालयबाट सहयोगको अपेक्षा गरेको उनले बताए।

कोरोना महामारीको असर सबै क्षेत्रमा परेको छ। मानवीय संकटका रुपमा रहेको कोरोनाबाट मुक्ति पाउन अवश्यक छ। यस्तो अवस्थामा कसैको कारण कसै अरुलाई मर्का नपर्ने गरी संकटको सामना गर्नु जरुरी छ।

प्रकाशित: ७ माघ २०७८ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App