३ जेष्ठ २०७९ मंगलबार
भिडियो

गालीको बढ्दो राज(नीति)

मुलुकलाई समृद्धीको बाटोमा लैजान हिँडेका नेताहरु पछिल्लो समय एक अर्काको खिल्ली उडाउँदै मस्त हुन थालेका छन्। उनीहरु एकले अर्कोलाई न्वारनदेखिको बल झिकेर गाली गलौज र चरित्र हत्यामा उत्रेका छन्।

नयाँ चेतना र सोचका साथ विचारलाई माझ्दै अग्रगामी दिशामा मुलुकलाई अगाडि बढाउने जिम्मेवारी लिएका अगुवा हुन, उनीहरु। तर यिनै अगुवा तल्लोस्तरका गालीगलौजमा उत्रँदा सर्वसाधरणमा निराशा छाएको छ। खासमा ‘राज’मा ‘नीति’ हावी हुनु पर्ने हो, तर पछिल्लो समयमा गाली सुनिन थालेको छ।

‘विकास गर्न हिँडेकाहरु गालीमा उल्झँदा हामीलाई दुःख लागेको छ,’ टिकाथलीका शिवशरण थापा भन्छन्, ‘उनीहरुबाट भोलिको पिढीले आशाभन्दा पनि निराशा बढी देख्न थालेको छ।’

राजनीति अन्य नीतिमाथि हावी हुने गर्छ। यो नै फोहोर भयो भने अन्य क्षेत्र पनि धुमिल हुने उत्तिकै सम्भावना रहन्छ। नीति र सिद्धान्तभन्दा पनि व्यक्तिगत गालीगलौजमा नेतृत्व तह उत्रँदा यसको असर समाजमा कस्तो पर्ला यसतर्फ सचेत भएको देखिन्न। क्षणिक आवेगमा बोलिएका अंहकारी शब्दले बिनम्र समाज पक्कै निर्माण गर्न सकिन्न।

‘उनीहरु के बोल्दै छु भनेर ख्याल गर्देनन्, उनीहरुको शब्द चयन फोहोरी जस्तो देखिन थालेको छ,’ सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेय भन्छिन्, ‘उनीहरुमा विनम्रता कम अहंकार बढी देखिन्छ।’

जबसम्म आफ्ना कमजोरी स्वीकार गर्न सकिन्न। तबसम्म यो सुधार्न सकिन्न। नेताहरु आफ्नो कमजोरी मान्न तयार छैनन्। उनीहरु आफूप्रति आएका आक्रोशको प्रतिवाद गर्न खोज्छन्। तर्क गरेर जित्न खोज्छन्। ‘अरुलाई दोष देखाउने भन्दा आफ्ना कमजोरी नियाल्न सक्नु पर्छ,’ समाजशास्त्री डा. टिकाराम गौतम भन्छन्, ‘तर अहिलेसम्म आफ्ना कमजोरी नियाल्न खोजेको देखिन्न।’

'खासमा ‘राज’मा ‘नीति’ हावी हुनु पर्ने हो। तर पछिल्लो समयमा गाली सुनिन थालेको छ। नीतिमाथि बहसभन्दा पनि एक अर्कालाई गाली गर्ने राजनीतिले मुलुकलाई कहाँ पुर्‍याउने होला?

गालीको शब्द चयन यति तल्लोस्तरको छ की कुनै कार्यक्रममा आमने समाने भए भने तिनलाई आँखा जुधाउन समेत लाज हुनु पर्ने हो। गाली गर्नैकै लागि विगतका कमजोरी कोट्याउने चलन बढेको छ। नीतिभन्दा तल व्यक्तिगत आलोचनामा ओर्लिएको गालीको सिकार परिवारका निर्दोष सदस्य समेत हुन थालेका छन्। ‘कतिपय शब्द चयन त निकै लाजलाग्दो छ,’ डा. गौतम थप्छन्, ‘यसबाट नेपाली समाज कता जाला भन्ने डर बढाएको छ।’

पछिल्लो समयमा फरक दल मात्र हैन आफ्नै दलका पनि फरक समूहमा रहेका माथि प्रहार हुन थालेको छ। विगतमा व्यंग्यमा सीमित भाषणहरु यति बेला ठाडो भाषामा ओर्लिन थालेका छन्। आफ्ना पक्षलाई साक्षात् ईश्वर र विरोधीमा रहेकालाई राक्षस ठान्ने प्रवृत्ति बढ्दो छ।

कतिसम्म भने केही समय अगाडिसम्म लोकतन्त्रवादी, गणतन्त्रवादी र संघीयताका हिमायती भएका आज रातारात निरंकुश देखिन थालेका छन्। भगवान ठानिएका एक्कासी राक्षसमा परिणत भएका छन्, अनि राक्षस ठानिएका भगवान।

जब तर्क सकिन्छ तब गाली सुरु हुन्छ भनेजस्तै जब गाली बढ्छ तब यसले त्यो भन्दा अगाडिको बाटो समाउँछ। विवेकशील भनिएका नेताहरुले यो त  पक्कै बुझ्नु पर्ने हो। छिमेकी मुुलुक भारतमा त किन गाली गरेको भन्दै हात हालाहाल भएको घटनापनि थुप्रै घटेका छन्। भोलिको अप्रिय अवस्थाबाट मुलुकलाई जोगाउन आज केही गर्न सकिन्न र? राजनीतिमा नैतिकता, इमानदारिता, धैर्यता र विश्वासको अलिकति पनि गुञ्जायस नभएकै हो त? ‘हैन  सुधारको ठाउँ जहाँ पनि रहन्छ,’ डा. नम्रता भन्छिन्, ‘तर सुध्रनको लागि तयार हुनु पर्छ।’ बोल्नु अगाडि एक पटक म के बौल्दै छु भनेर सोच्ने गरेमात्र पनि नराम्रा र नमिठा बोलीको मात्र घट्ने उनको विश्वास छ।

प्रकाशित: २ पुस २०७८ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App